
काठमाडौं । लोकप्रिय तर विवादास्पद छवि बनाएकी गायिका एलिना चौहान फेरि विवादको केन्द्रमा आएकी छिन्। अमेरिकामा भएको एक सांगीतिक कार्यक्रममा आयोजकसँग ठूला विवाद भएपछि उनले सामाजिक सञ्जालमा भावनात्मक र आरोपपूर्ण स्टाटस लेखेकी थिइन्। तर, अब त्यो घटनाको भित्री पक्ष फरक रहेको खुलासा भएको छ।
अमेरिकामै बस्ने पत्रकार सुरेश दर्पन पोखरेलका अनुसार, एलिना चौहानले सार्वजनिक रूपमा भनेको भन्दा पनि विवादको वास्तविक कारण अर्कै रहेको छ। उनका अनुसार एलिनालाई अमेरिका पुर्याउने, कार्यक्रमहरू तय गर्ने र सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मा आयोजक विनोद अधिकारीले लिएका थिए।

भिसादेखि कार्यक्रमसम्म आयोजककै पहल
सुरेश दर्पनले बताएका छन् — “एलिना लगायतका केही कलाकारलाई आयोजकले आफ्नै सम्पर्क र पहलमा अमेरिका लगेका थिए। भिसा प्रक्रिया, हवाई टिकट, कार्यक्रम आयोजना र बसोबास सबै व्यवस्थापन आयोजककै तर्फबाट गरिएको थियो।”
तर, अमेरिका पुगेपछि एलिनाले आयोजकको सहमति बिना राप्ती सेवा समाज, न्युयोर्कको कार्यक्रममा प्रस्तुति दिएकी थिइन्। उक्त कार्यक्रममा उनले करिब २५ सय अमेरिकी डलर (झन्डै ३ लाख ५० हजार रुपैयाँ) लिएको थाहा पाएपछि आयोजक र एलिनाबीच विवाद चर्किएको स्रोत बताउँछ।

कार्यक्रम बीचमै छोडेर फर्किईन् नेपाल
त्यो विवाद क्रमशः उग्र बन्दै गएपछि एलिनाले आयोजकसँग सम्बन्ध विच्छेद गर्दै बीचमै कार्यक्रम छोडेकी थिइन्। उनले आफ्नै खर्चमा हवाई टिकट काटेर नेपाल फर्कने निर्णय लिईन्। नेपाल फर्केपछि उनले फेसबुकमार्फत आयोजकमाथि ‘दुव्र्यवहार’, ‘रक्सी सेवन गरी दुर्वचन बोलेको’ लगायतका आरोप लगाउँदै लामो स्टाटस लेखिन्, जसले सामाजिक सञ्जाल ततायो।
‘छिटो रिसाउने र सानो कुरामा इस्यु बनाउने’ — सहकलाकारको प्रतिक्रिया
एलिनालाई नजिकबाट चिन्ने एक सहकलाकारका अनुसार, “एलिना प्रतिभाशाली गायिका हुन् तर उनी भावनात्मक रूपमा निकै संवेदनशील छिन्। सानो कुरामा रिसाउने, झर्किने र इस्यु बनाउने बानीले कहिलेकाहीँ उनलाई नै समस्या बनाउँछ।”
उनका अनुसार, “यस्ता विवादले कलाकारको इमेज बिगार्छ, एलिनाले सन्तुलित व्यवहार अपनाउन सकेकी भए यो विवाद त्यति ठूलो बन्ने थिएन।”
एलिनाको विवादले अहिले नेपाली संगीत क्षेत्रमा दोहोरो प्रतिक्रिया ल्याएको छ। एक पक्षले उनलाई ‘साहसी र स्पष्ट वक्ता’ भनेर समर्थन गरिरहेको छ भने अर्को पक्षले ‘अनावश्यक हल्ला र व्यक्तिगत आक्रोशले संगीत व्यवसायको इमेज बिगार्ने’ आरोप लगाएको छ।
यस घटनापछि आयोजक विनोद अधिकारीले भने सार्वजनिक रूपमा शान्त र संयमपूर्ण प्रतिक्रिया दिएका छन्। उनले भनेका छन् — “हामीले कलाकारलाई सम्मानका साथ अमेरिका लगेका थियौं, कार्यक्रम सफलतापूर्वक सम्पन्न होस् भन्ने हाम्रो चाहना थियो। तर केही कुराहरू असमझदारीका कारण बिग्रिए।”
यस विवादको यथार्थ कता छ भन्ने कुरा भने अझै पूर्ण रूपमा खुलेको छैन। एलिनाले लगाएका आरोप र आयोजक पक्षका प्रतिवादबीच सत्य के हो भन्ने कुरा समयले नै खुलाउनेछ।
अमेरिकी यात्रापछि एलिनाको करियर र छविमाथि पुनः विवादको छायाँ परेकी छिन्। अहिले उनको फेसबुक पोस्ट र त्यसमा आएका प्रतिक्रिया संगीत क्षेत्रको ‘सबैभन्दा चर्चित अनलाइन ड्रामा’ बनेको छ।



