
काठमाडौं — सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चितवनस्थित यातायात व्यवस्था कार्यालय भरतपुरका कार्यालय सहायक इन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई पक्राउ गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार टङ्गालस्थित आयोग कार्यालयबाट खटिएको टोलीले गुरुङको कार्यकक्षबाट रू १ लाख ८५ हजार नगदसहित दुवैजनालाई कार्यालय परिसरमै नियन्त्रणमा लिएको हो।

अनुसन्धानका क्रममा गुरुङ, पाठक र महालक्ष्मी, गुरुङ तथा कुमार ड्राइभिङ सेन्टरका सञ्चालकहरूको मिलेमतोमा लाइसेन्स परीक्षामा असफल भएका परीक्षार्थीलाई पास गराउन सवारीको वर्गअनुसार रू १५ हजारदेखि २५ हजारसम्म असुली गरिँदै आएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको आयोगले जनाएको छ।
पक्राउ परेकासँगै ३१ थानभन्दा बढी मोबाइल, २ थान ल्यापटप तथा अन्य कागजातहरू समेत बरामद गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।



