
विराटनगर । मोरङमा लागूऔषध गाँजा तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले गोली प्रहार गरी दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीको गोली लागेर एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज २९ गते रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर बक्राहा खोला बगरमा लुकाइछिपाइ राखिएको अवस्थामा आठ वटा सेतो बोरामा रहेको २६४.५९ किलोग्राम गाँजा बरामद गरिएको थियो।

उक्त स्थानमा पुनः लागूऔषधको कारोबार हुन सक्ने आशंकामा राति करिब ९ः२५ बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा केही व्यक्ति गाँजा लिएर भारततर्फ जाँदै गरेको अवस्थामा फेला पारेको थियो।
प्रहरीका अनुसार नियन्त्रणमा लिन खोज्दा उनीहरू भारततर्फ भाग्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि नियन्त्रणमा नआएपछि पुनः एक राउन्ड गोली चलाउँदा भारतको अररिया जिल्ला, जोगबनी निवासी करिब ३९ वर्षीय प्रमोद चौधरीको घुँडामुनि पिँडुलामा गोली लागेको थियो। उनलाई घाइते अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सोही क्रममा प्रहरीले अर्का भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिएको छ। भारतको अररिया जिल्ला, महगामा ग्राम पञ्चायत, थाना–४ निवासी करिब ५० वर्षीय राजेन्द्र प्रसाधनलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीले पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
उक्त घटनामा प्रहरीले यसअघि बरामद गरेको २६४.५९ किलोग्राम गाँजाबाहेक पक्राउ परेका व्यक्तिहरूबाट थप करिब १०० किलोग्राम गाँजा बरामद भएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ। बरामद गाँजाको स्रोत, ओसारपसारमा संलग्न अन्य व्यक्तिहरू तथा सम्भावित सञ्जालबारे अनुसन्धान भइरहेको छ।





