विराटनगर । मोरङ कारागारभित्र प्रतिबन्धित लागुऔषध लैजाने प्रयास असफल भएको छ। कारागारको मुख्य प्रवेशद्वारमा खटिएको सुरक्षा टोलीले नियमित जाँचका क्रममा लागुऔषधसहित दुई युवतीलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–११ निवासी मेलिना तामाङ र पूर्णिमा तामाङ रहेका छन्।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–८, हाटखोलास्थित मोरङ कारागारमा आफन्त भेट्न आएका उनीहरूमाथि शङ्का लागेपछि जाँच गरिएको थियो। सो क्रममा भित्री वस्त्रमा प्रयोग हुने प्याडभित्र लुकाएर राखिएको २४० थान हरियो रङको र २४० थान सुन्तला रङको गरी कुल ४८० थान ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

कारागारको सुरक्षा जाँचका क्रममा प्रतिबन्धित ट्याब्लेट फेला परेपछि सुरक्षा टोलीले दुवै युवतीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरीको जिम्मा लगाएको थियो।

पक्राउ परेका दुवै जनामाथि लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय