रुपन्देही। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देहीको टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको सुनका गरगहनासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।

असोज १४ गते राति करिब ८ बजे सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा सशस्त्र प्रहरी नायब उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया ईला पटेलको साथबाट सुनजस्तो देखिने विभिन्न प्रकारका गरगहना बरामद गरेको हो।

बरामद गरिएका गरगहनाको तौल २ किलो ६०५ ग्राम रहेको थियो। परीक्षण तथा धातुको परिमाण यकिन गर्न असोज १५ गते सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा पठाइएकोमा परीक्षण गर्दा उक्त गरगहनामा १ किलो शुद्ध सुन रहेको पुष्टि भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सुनको बजार मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम गरिएको छ।

नियन्त्रणमा लिइएकी पटेललाई बरामद गरिएका सम्पूर्ण गरगहनासहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाइएको छ।

बरामद गरिएका गरगहनामा हार ९ थान, औंठी ८१ थान, चुरा १३ थान, माला ४ थान, हसुली किसिमको सिक्री ८ थान, पत्थरसहितको झुम्का २० थान, झुम्का २४ थान, गोली औंठी १४ थान, लकेट (जन्तर) १ थान, पोते १७ थान, सिक्री २४ थान, बाली तथा जुली १८८ जोर, पत्थरसहितको टप ६४ जोर, नाकको फूली २२ थान, पत्थरवाला हार २ थान, सानो झुम्का १० थान, कानको बाली ११ जोर र ब्रासलेट ८ थान रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय