सिरहा — सिरहा प्रहरीले ब्राउन सुगर र नगदसहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लहानको टोलीले बिहीबार लहान नगरपालिका–११, पडरिया टोलस्थित एक घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्थानीय २८ वर्षीय मिथलेशकुमार चौधरी र अन्दाजी २४ वर्षीय राजनन्दन चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय, सिरहाका अनुसार उनीहरूलाई मिथलेशकुमारको घरबाट पक्राउ गरिएको हो, जहाँ लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो।

प्रहरीले घटनास्थलबाट १२४.६२ ग्राम ब्राउन सुगर, २ लाख ८६ हजार ७१० नेपाली रुपैयाँ र १,२५० भारतीय रुपैयाँ नगद बरामद गरेको छ। साथै, एक थान डिजिटल तराजु, एक थान कैँची, दुई थान मोबाइल फोन, एक थान सुनको तिलहरी र एक थान नेकलेस पनि बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय