
वीरगञ्ज, १४ असार — संसदबाट सन्तानले आमाको नामबाट नागरिकता पाउने व्यवस्था गरिएको विधेयक पारित भएको अवसरमा वीरगञ्जको घण्टाघरमा नेपाल विद्यार्थी संघ (नेविसंघ) द्वारा मैनबत्ती बालेर स्वागत कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम नेविसंघका नेता कृष पटेलको अध्यक्षतामा सम्पन्न भयो।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुरेन्द्र लामिछाने प्रमुख अतिथि तथा नेपाली कांग्रेसका जिल्ला सदस्य रामनिवास यादव विशिष्ट अतिथि थिए। त्यस्तै, युवा नेता रामबाबु यादवसहित विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले बाबुको नाम अनिवार्य बनाएर नागरिकता पाउनुपर्ने अघिल्लो व्यवस्थाले हजारौं आमालाई अपमानित गरेको बताउँदै, पारित विधेयकले उनीहरूको पीडामा मलम लगाउने काम गरेको बताएका थिए।
अबदेखि बाबु बेपत्ता, मृत, वा नागरिकता दिन असहयोग गरेको अवस्थामा समेत आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिने छ।विदेशमा कार्यरत महिलाहरूका सन्तानको हकमा समेत यो विधेयकले ठूलो राहत दिएको जनाइएको छ।
अब विदेशमै सन्तान जन्माएर नेपाल फर्किएकाहरूले आमाको घोषणाका आधारमा अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
कार्यक्रमको अन्त्यमा सबै सहभागीहरूले विधेयकको सफल कार्यान्वयनको कामना गर्दै मैनबत्ती बालेर दीप प्रज्वलन गरेका थिए।



