
सिरहा — सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंकको शाखाबाट भएको रकम लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजन उर्फ सुजेन्द्र लोहनी रहेका छन्। उनलाई सिरहा नगरपालिका–१७ खैरटोकाबाट विशेष प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

डिएसपी पासवानका अनुसार २०७९ साल फागुन १० गते मिर्चैया नगरपालिका–३ स्थित बतहा पुलमा ग्लोबल आइएमई बैंक मिर्चैया शाखाबाट ल्याउँदै गरिएको ९ लाख रुपैयाँ लुटिएको थियो। उक्त रकम बैंकका कर्मचारी तथा सुरक्षामा खटिएका प्रहरीको साथमा ल्याउँदै गर्दा सुजेन्द्र लोहनीसहित चारजनाको समूहले पेस्तोल देखाई रकम लुटेका थिए।
उनीहरू नम्बर नखुलेका यमाहा र अपाचे मोटरसाइकलमा आएका थिए। लुटपाटका क्रममा इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी जवान निकेश खवासमाथि हतियार देखाएर कुटपिटसमेत गरिएको थियो।
घटनापछि फरार रहेका लोहनी भारतमा लुकेर बसेका थिए। लामो अनुसन्धानपछि उनलाई सिमावर्ती क्षेत्र खैरटोकाबाट पक्राउ गरिएको हो।
पक्राउ परेका लोहनीमाथि अनुसन्धान अघि बढाइएको छ भने उनलाई जिल्ला अदालत सिरहामा पेस गरेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।



