
काठमाण्डौं—मकवानपुर प्रहरीले हेटौँडाबाट ठूलो परिमाणमा लागुऔषधसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतीहारी जिल्लाका २६ वर्षीय उपेन्द्र यादव, २२ वर्षीय संजित कुमार यादव र ३५ वर्षीय सिकिन्दर महतो रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालका अनुसार, हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। भारतको मोतीहारीबाट काठमाडौँतर्फ जाँदै गरेको बिएल–०१–डब्ल्यु–१४०४ नम्बरको भारतीय कार जाँच गर्दा ठूलो मात्रामा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट २५ हजार ४५५ क्याप्सुल ट्रामाडोल र १२० बोतल अनरेक्स बरामद गरिएको छ। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले कार रोकेर तलासी गर्दा ती लागुऔषधहरू फेला पारेको हो।
प्रहरीले लागुऔषध तथा प्रयोग गरिएको सवारीसाधन समेत नियन्त्रणमा लिई तीनैजनामाथि लागूऔषध सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।



