
सिन्धुली ।सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित इलाका प्रहरी कार्यालयले शुक्रबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य प्रकाश सुवेदीका अनुसार, दिउँसो पौने २ बजे बिपी राजमार्ग हुँदै जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २–०२–००३ प ७६३४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागूऔषध सहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा मोटरसाइकल चालक धनुषा जिल्लाको शहीद नगरपालिका–८ निवासी २२ वर्षीय रजनिश यादव रहेका छन्। यादवको साथबाट प्रहरीले नाइट्राजिपाम २८ ट्याबलेट र स्पासमो ८ ट्याबलेट बरामद गरेको छ।
हाल पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



