मकवानपुर, असार ५ — मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष तथा उपमहानगर प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै आक्रमण भएको छ।

भूमिसम्बन्धी विवाद देखाउँदै कालो पोशाकमा मोटरसाइकलमा आएका चार जनाको समूहले अध्यक्ष न्यौपानेमाथि टाउकोमा प्रहार गर्दै कालो मोविल छ्यापेको बताइएको छ। आक्रमणका क्रममा कार्यालयमा रहेका सामग्री प्रयोग गरी उनको टाउकोमा चोट पु¥याइएको र उनी प्रयोग गर्दै आएका दुईवटा मोबाइलसमेत लुटिएको अध्यक्ष न्यौपानेले बताए।

न्यौपानेका अनुसार, हेटौंडा–१ स्वर्गलोकस्थित सार्वजनिक जमिन अतिक्रमणको प्रयासविरुद्ध वडा र उपमहानगरले संरक्षणका लागि कारबाही अघि बढाएपछि आक्रोशित समूहले आक्रमण गरेको हो।

घटनापछि उपमहानगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित अन्य वडा अध्यक्षहरू घटनास्थल पुगेका थिए। नगरप्रमुख लामाले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह गरेकी छिन्।

यस घटनालाई गम्भीर रूपमा लिँदै उपमहानगरपालिकाले आकस्मिक बैठक बोलाएको र घटनापछि उपमहानगरको आधिकारिक धारणा सार्वजनिक गरिने नगरप्रमुख लामाले जानकारी दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय