सर्लाही, असार ४ — सर्लाही प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। बुधबार बिहान विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले करिब ४२ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय करमैयाका प्रमुख प्रहरी सई सुवास यादव नेतृत्वको टोलीले वीरगन्जबाट इटहरीतर्फ जाँदै गरेको बा ५ ख ३६० नम्बरको ट्रक चेकजाँच गर्दा उक्त सामान फेला परेको सर्लाही प्रहरीका निमित्त प्रवक्ता बालिष्टर सिंहले जानकारी दिए।

उनका अनुसार ट्रक चालकसँग सामानको आवश्यक कागजात नभेटिएको र भएका कागजातहरू पनि शंकास्पद देखिएकाले ट्रक नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार उक्त ट्रकमा भन्सार छली गरिएका टायर, किसमिस, छाता, कस्मेटिक्सलगायतका सामग्री लोड गरिएको थियो। बरामद सामानसहित ट्रकलाई थप अनुसन्धानका लागि पथलैया राजश्व अनुसन्धान कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय