
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षको बजेटमा नेपाल प्रहरीका लागि उल्लेख्य बजेट वृद्धि गरिएको बताएका छन्। अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यसबारे जानकारी गराएका हुन्।
उनले मुलुकको साधन, स्रोत र समग्र बजेटीय अवस्थालाई विचार गर्दै तुलनात्मक रूपमा नेपाल प्रहरीतर्फ सकारात्मक रूपमा बजेट विनियोजन गरिएको स्पष्ट पारे। “यसअघि जम्माजम्मी ८–९ महिनाका लागि मात्रै तलब, पोसाक, रासनको व्यवस्था हुने गर्थ्यो,” गृहमन्त्री लेखकले भने, “तर यसपटक वर्षभरका लागि एकमुष्ट बजेट विनियोजन गरिएको छ, अब यस्तो समस्या दोहोरिँदैन।”

गृहमन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्न, अनुसन्धानमा प्रविधिको प्रयोग गर्न र आवश्यक सामग्री व्यवस्थापनका लागि समेत बजेट अभाव नहुने बताए। उनका अनुसार अब नेपाल प्रहरीले रिजल्टमुखी कार्यशैली देखाउनुपर्ने समय आएको छ।
“अब बढीभन्दा बढी प्रविधिको प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ, स्वच्छ र भरपर्दो बनाउनुपर्छ,” गृहमन्त्री लेखकको भनाइ थियो।



