
विराटनगर । किशोरको मोबाइल लुटपाट गरी अभिभावकसँग फिरौती माग्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ का १९ वर्षीय प्रवलकुमार विक र दीपक अधिकारी रहेका छन्। घटनामा संलग्न भारतीय नागरिक २२ वर्षीय गोलु सिंह भने फरार छन्, र उनको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ फोकल्याण्ड टापुका प्रज्ञान राई र इटहरी उपमहानगरपालिका–१९ का आशिष गुरुङ विराटनगरको ट्राफिक चोकस्थित टोम एण्ड जेरी होटलमा काम गर्दै आएका थिए। २–३ दिनअघि उनीहरूलाई साथीहरूले भारतको जोगवनी पुर्याएर प्रज्ञानको मोबाइल लुटपाट गरेका थिए।

मोबाइल लुटेर आक्रमण गर्न खोजिएपछि उनीहरू भागेर नेपाल फर्किएका थिए। प्रहरीले प्रारम्भिक अनुसन्धानबाट लुटिएको सोही मोबाइलबाट प्रज्ञानका अभिभावकलाई फोन गरी “छोरा चाहिन्छ भने ३० हजार रुपैयाँ लिएर विराटनगरको बिग होटल छेउमा आउनू” भनी फिरौती मागिएको खुलाएको छ।
प्रज्ञानका पिता खेमप्रताप राईले इलाका प्रहरी कार्यालय धरानमा जानकारी दिएपछि इन्स्पेक्टर जीवन कुँवरको टोली मोरङ प्रहरीसँग समन्वय गरी अनुसन्धान थालेको थियो। विराटनगर बसपार्कबाट प्रवल र दीपकलाई पक्राउ गरिएको हो। उनीहरूले फिरौती लिनका लागि भारतको गोलु सिंहले आफूहरूलाई पठाएको बयान दिएका छन्।
यस घटनामा पीडित भनिएका प्रज्ञान र आशिषसँगै विराटनगर–१५ की २० वर्षीया विजेता तामाङलाई पनि इटहरी–१९ तरहराबाट सकुशल उद्धार गरिएको छ। उनीहरूलाई अभिभावकको जिम्मा लगाएर धरान प्रहरीले रिहा गरेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पीडित र पीडकबीच पहिले साथी–साथीको सम्बन्ध रहेको, तर जोगवनी पुगेपछि लुटपाट तथा आक्रमण प्रयास भएको पाइएको छ। घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय रानी अन्तर्गत इन्स्पेक्टर कविन राईको टोलीले गरिरहेको छ।



