
सुर्खेत, दैलेख — राउटे समुदायका युवतीहरूमाथि दुर्व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले दैलेखका तपेन्द्र शाहीलाई पक्राउ गरेको छ।
सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको १५ सेकेन्डको भिडियामा चार जना राउटे युवतीहरू गुडिरहेको ट्रकमा रहेका देखिन्छन्, जहाँ एक युवकले उनीहरूमाथि दुर्व्यवहार गरिरहेको दृश्य देखिन्छ। उक्त युवकले ‘ताजा ताजा’ भन्दै असहज व्यवहार गरेका कारण युवतीहरू स्पष्ट रूपमा असहज महसुस गरिरहेको देखिन्छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बरालका अनुसार शाहीलाई शनिबार बिहान १०:३० बजे आठबीस नगरपालिकाको तुनीबगरबाट पक्राउ गरिएको हो। उनले भने, “भिडियो सार्वजनिक भएपछि उजुरी र गुनासा प्राप्त भएपछिमात्र हामी सक्रिय भएका थियौं। अहिले विस्तृत विवरण संकलन भइरहेको छ। अनुसन्धानपछि उनलाई सुर्खेत पठाइनेछ।”
भिडियो ‘घर्ती जगत’ नामक फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेका थिए। प्रहरीले भिडियो सार्वजनिक गर्ने व्यक्तिको समेत खोजी गरिरहेको जनाएको छ। यस विषयमा विभिन्न संघ–संस्था तथा व्यक्तिहरूले सुर्खेतमा उजुरी समेत दिएका थिए।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोले समाजमा नकारात्मक सन्देश दिने भन्दै नागरिक स्तरबाट चासो व्यक्त गरिएको छ। सोसेक नेपाल दैलेखका कार्यकारी प्रमुख हिरासिंह थापाले भने, “पक्राउ गरिएका व्यक्तिविरुद्ध साइबर अपराध र हिंसासम्बन्धी मुद्दा चल्न सक्छ।”
यसअघि २०७८ साल जेठ २१ गते पनि सुर्खेतको गुर्भाकोटमा राउटे समुदायका युवतीहरूमाथि यस्तै प्रकारको घटना सार्वजनिक भएको थियो। त्यस घटनामा संलग्न गुर्भाकोट-९ का चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई जिल्ला अदालतले सात–सात वर्षको जेल सजाय र जनही दुई लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो।
राउटे समुदायप्रति भइरहेको यस्तो प्रकारको दुव्र्यवहारले सम्पूर्ण समाजमा गम्भीर प्रश्न खडा गरेको छ। यस्तो कार्यमा संलग्नलाई कडा कानुनी कारबाहीको माग तीव्र रूपमा उठिरहेको छ।



