काठमाडौं –नेपालमा खोज पत्रकारितामार्फत सामाजिक अन्याय र बेथितिविरुद्ध आवाज उठाउने गोरखा जिल्लाका पत्रकार जीवन शर्मा लाई खोज पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै आर्या मिडिया हाउस को आयोजनामा तथा संयुक्त मेलामहोत्सव ग्रुप प्रालि को व्यवस्थापनमा सञ्चालित कागेश्वरी मनोहरा (मुलपानी) महोत्सव२०८२ मा विशेष सम्मान प्रदान गरिएको छ।

दबीएका, लुकाइएका र बेवास्ता गरिएका विषयलाई तथ्य, प्रमाण र निर्भीक प्रस्तुतिका साथ सार्वजनिक गर्न जीवन शर्मा नेपाली खोज पत्रकारिता क्षेत्रका एक सशक्त हस्ताक्षरका रूपमा परिचित छन्। सामाजिक न्याय र उत्तरदायित्वप्रति समर्पित पत्रकार शर्माको यात्राले समकालीन पत्रकारितामा एउटा पृथक पहिचान बनाएको छ।

गाउँबाट राजधानीसम्मको यात्रा

वि.सं. २०४० साल, कार्तिक १५ गते गोरखा जिल्लाको साविक दहरबुङ्गा गाविस वडा नं. ६ (हाल गण्डकी गाउँपालिका वडा नं. ५) मा जन्मिएका जीवन शर्मा सामान्य ग्रामीण परिवेशमा हुर्किए। उनका पिता विष्णुप्रसाद खनाल र माता दुर्गादेवी खनालको जेष्ठ सुपुत्रका रूपमा जन्मिएका शर्माले बाल्यकालमै असमानता र अन्यायप्रति प्रश्न उठाउने चिनारी दिएका थिए।

वि.सं. २०६१ साल वैशाख १४ गते न्यु एक्टिभ मिडिया बाट औपचारिक पत्रकारिता तालिम लिएका शर्माले सोही वर्ष पोखरा एफएम ९५.८ मेगाहर्जमा “लोक सुसेली” र “पल प्रति पल” जस्ता लोकप्रिय कार्यक्रममार्फत रेडियो पत्रकारिताबाट आफ्नो यात्रा सुरु गरे। कार्यक्रमहरूमा जनसरोकारका विषय उठाउँदै उनले आम नागरिकको आवाज बनेका थिए।

कागज र कलममा निर्भीकता

रेडियोबाट सुरु भएको पत्रकारिता यात्रा पछि उनी छापा र डिजिटल पत्रकारितामा समेत सक्रिय बने। उनका खोजमूलक लेख, रिपोर्ट र विश्लेषणहरू अफ्लिमेन्ट, न्युजलाईन्स पाँछिक, जनसभा राष्ट्रिय दैनिक, मध्यान्ह दैनिक लगायत विभिन्न राष्ट्रिय र क्षेत्रीय पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्। उनले सञ्चालित स्थानीय सरोकार नामक पत्रिका र निगरानी दैनिक डटकम अनलाइन माध्यममार्फत पनि सामाजिक चेतना फैलाइरहेका छन्।

शर्माको खोज पत्रकारिता विशेषतः भौगोलिक र सीमावर्ती क्षेत्रहरूमा देखिएका अनियमितता, वन पैदावारको तस्करी, सार्वजनिक सम्पत्तिको दोहन, र अवैध कारोबार जस्ता विषयमाथि केन्द्रित रहेको छ। यी विषयहरूमा प्रमाणसहित रिपोर्टिङ गर्नु, सत्यतथ्य प्रस्तुत गर्नु र त्यसविरुद्ध आवाज उठाउनु उनीका विशिष्टता हुन्।

खोज पत्रकारिताको क्रममा उनले आर्थिक संकट, भौतिक धम्की, र मानसिक यातना सहनु परेको अनुभव सुनाउँदै भन्छन्,

“सत्य लेख्न सक्नु खोज पत्रकारिताको आत्मा हो, तर यो यात्रा निकै कठिन र जोखिमपूर्ण हुन्छ।”

उनको मान्यता छ, खोज पत्रकारितामा सरकार, समाज, र गैरकानुनी सञ्जाल सबैबाट प्रतिरोध हुन सक्छ, तर सत्य र न्यायको पक्षमा कलम चलाउनु नै पत्रकारको धर्म हो।

कार्यक्रममा आयोजक संस्थाले शर्माको तथ्यमा आधारित रिपोर्टिङ, सामाजिक उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धता, र निष्ठा को प्रशंसा गर्दै उनलाई समाजका लागि प्रेरणादायी पात्रको रूपमा चित्रण गरेका छन्।

“उनीजस्ता निर्भीक पत्रकारहरू नै पत्रकारिता जगतका असली पहरेदार हुन्,” आयोजकले भने।

जीवन शर्माको यात्रा र योगदानले नेपाली पत्रकारिताको क्षेत्रमा एउटा नयाँ आयाम थपेको विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय