काठमाडौं — नेपाल प्रहरीका प्रमुख, महानिरीक्षक (आईजीपी) दिपक थापाले प्रहरी संगठनभित्र अनुशासन, सभ्य बोलीवचन र शिष्ट व्यवहारलाई थप मजबुत बनाउने उद्देश्यका साथ मातहत प्रहरी कर्मचारीलाई महत्वपूर्ण निर्देशन दिएका छन्।

नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममार्फत निर्देशन दिँदै आईजीपी थापाले भने, “अनुशासित भएर आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्दै सामूहिक भावनामा काम गर्नुस्।” उनले संगठनको छविलाई जनमैत्री र भरोसायोग्य बनाउने दिशामा सबै प्रहरी कर्मचारी एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

हालैका दिनमा विभिन्न स्थानमा प्रहरी कर्मचारीबाट सर्वसाधारणसँग दुर्व्यवहार भएको वा प्रहरीभित्रै व्यवहारजन्य समस्या देखिएको घटना सार्वजनिक भइरहेका सन्दर्भमा आईजीपी थापाले यस्तो निर्देशन दिएका हुन्। उनले यस्ता समस्याहरूले संस्थाको छविमा नकारात्मक प्रभाव पार्ने भएकाले सबैलाई सचेत र जिम्मेवार बन्न आह्वान गरेका हुन्।

शान्ति सुरक्षा कायम गर्न सूचना संकलन, विश्लेषण र प्रभावकारी परिचालनलाई प्राथमिकता दिनुपर्ने बताउँदै, उनले अन्य सुरक्षा निकायहरूसँग पनि सहकार्य र समन्वय अझ सशक्त बनाउनु पर्ने उल्लेख गरे।

“कुनै पनि घटनाको सूचना प्राप्त हुनेबित्तिकै तत्काल प्रहरी परिचालन गरी प्रभावकारी सेवा प्रवाहमा जुट्नुपर्छ,” आईजीपी थापाले भने, “विरोध र प्रदर्शनजस्ता संवेदनशील गतिविधिलाई व्यवस्थापन गर्दा बल प्रयोगको सिद्धान्तलाई ध्यानमा राखी थप संवेदनशीलता अपनाउनुपर्छ।”

आईजीपी थापाको निर्देशनलाई प्रहरी संगठनभित्र शुद्धिकरण, सेवा प्रभावकारिता र जनविश्वास अभिवृद्धिको अभियानको रुपमा हेरिएको छ। यस्तो निर्देशनले प्रहरी कर्मचारीको आन्तरिक कार्यशैली सुधार्ने मात्र नभई जनतासँगको सम्बन्ध पनि सुदृढ गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय