काठमाडौं — नेपालको प्रहरी संगठनभित्र बढुवाको विषय प्रायः विवादको घेरामा पर्दै आएको छ। प्रत्येक बढुवा प्रक्रियामा कसैको रोइलो, कसैको असन्तुष्टि र कसैको व्यक्तिगत स्वार्थ जोडिएर आउने गरेको देखिन्छ। हालैका दिनमा पनि यस्तै अवस्था दोहोरिएको छ। बढुवाको प्रक्रिया शुरु हुनासाथ केही प्रहरी अधिकृतहरू बढुवा हुनैपर्छ भन्ने धारणासहित सत्तासमीप पुग्ने, प्रभावशाली व्यक्ति र नेतृत्व समक्ष सिफारिस बोकेर जान थाल्ने गरेका छन्।

तर, यिनै व्यक्तिहरू आफ्ना व्याचमेटहरू अथवा आफूसँगै सेवा शुरु गरेका सहकर्मीहरूलाई भने उनी योग्य छैनन्, उसलाईबढुवा दिनु हुँदैन भन्ने प्रकारका अपारदर्शी र अस्वस्थ प्रतिस्पर्धा फैलाउने गर्दछन्। अझ रोचक कुरा त के छ भने, धेरैजसोले एकै दिनको बढुवामा आफूलाई सिनियर देखाउँदै विशेष लाभ लिने तर्क गर्छन्, तर त्यही प्रक्रियामा आफ्नो नामभन्दा पछाडि रहेका साथीहरूलाई अगाडि बढेपछि भने बिरोध जनाउने दोहोरो चरित्र देखाउँछन्।

यस प्रकारको आत्मकेन्द्रित सोच, एकअर्कालाई होच्याउने प्रवृत्ति र निष्पक्षता भंग गर्ने चलनले प्रहरी संगठनको आन्तरिक मर्यादा र सामाजिक गरिमा घटाउने काम गर्छ।

तर यस्ता स्वार्थी सोच भएका प्रहरी अधिकृतहरूलाई हालै माननीय गृह मन्त्रीले हुर्मत लिएको भनाइ सामाजिक सञ्जालमा समेत छाएको छ। जसको परिणामस्वरूप, उनीप्रति आम नागरिक र प्रहरी संगठनभित्र समेत सम्मान र आशा बढेको देखिन्छ। जब नेतृत्वले न्यायिक, तार्किक र पारदर्शी रूपमा प्रक्रिया अघि बढाउँछ, तब अविश्वास, असन्तुष्टि र संकीर्ण सोचलाई सहजै हटाउन सकिन्छ।

प्रश्न उठ्छ: प्रहरी संगठनभित्र बढुवा कसरी न्यायिक बनाउने?

सही उत्तर भनेको — इमान्दारिता, व्यवसायिकता, क्षमता र स्वच्छताको आधारमा मूल्यांकन। जब बढुवाको मापदण्ड यिनै हुन्छन्, तब वरियता स्वाभाविक रूपमा स्थापित हुन्छ। त्यस अवस्थामा कोही पनि “किन म होइन?” भन्ने जस्ता प्रश्न उठाएर रोइलो गर्न सक्दैन।

जनताको विश्वास प्राप्त गर्न चाहने प्रहरी संगठनका लागि योग्य, कर्मठ र चरित्रवान अधिकृतहरूको अग्रता कायम राख्न सकिन्छ भने संगठनको नैतिक बल बलियो बन्छ।

यस अर्थमा, “अरूलाई होचो बनाएर आफू अग्लो हुने” मनोवृत्तिले होइन, “समूहलाई माथि उठाउँदै आफूलाई पनि सिद्धान्तमा अडिग राख्ने” सोचले संगठन समृद्ध बन्छ।

आजको सचेत र जानकार समाजमा इन्ची टेपले नापेर अग्लो हुने सोच त्यागेर, योग्यताको जगमा आधारित प्रहरी नेतृत्व तयार पार्न सक्नु नै असली सफलता हो। त्यसैले, बढुवामा पारदर्शिता, न्यायिक प्रक्रिया र असल नेतृत्वको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ।

जो इमान्दार, सक्षम, र निस्वार्थ भावनाले सेवा दिइरहेका छन्, तिनीहरू नै बढुवामा अग्रसर हुनुपर्छ। र, जो व्यक्तिगत स्वार्थको राजनीतिमा लिप्त छन्, उनीहरूले प्रहरी संगठनको शुद्धतामा आँच नपुर्‍याउन भन्ने चेत समाजले दिन थालेको छ — यही चेत नै भविष्यको प्रहरी प्रशासनका लागि मार्गदर्शन बन्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय