
चितवन — जिल्ला प्रहरी कार्यालय, चितवनका नवनियुक्त प्रहरी प्रमुख एसपी गोविन्द पुरीले आफ्नो पदबहालीको एक साताभित्रै जिल्लाका अग्रणी सञ्चारकर्मीहरूसँग विशेष भेटघाट गर्दै चितवनको शान्ति सुरक्षा सुदृढ गर्न दृढ अठोट व्यक्त गरेका छन्।
प्रहरी संगठनले दिएको जिम्मेवारीप्रति गम्भीर प्रतिबद्धता जनाउँदै एसपी पुरीले चितवनमा लामो समय टिक्ने गरी काम गर्ने योजना सुनाए। उनले भने, “ढक्क भए हुन्छ, तर म जिम्मेवारी पुरा गरेरै विदा हुन्छु। संगठनले मलाई जुन कार्यकालका लागि पठाएको हो, त्यो पुरा गर्छु। सुरक्षाको सवालमा कुनै कसर बाँकी राख्दिन।”

संवेदनशील जिल्ला चितवनमा शान्ति सुरक्षाको नमूना स्थापित गर्ने लक्ष्य
नेपालको भौगोलिक दृष्टिले केन्द्रमा रहेको चितवन जिल्ला सुरक्षाको हिसाबले निकै संवेदनशील मानिन्छ। यहाँका जनसंख्या, व्यवसायिक गतिविधि, आन्तरिक तथा बाह्य पर्यटनको चाप, तथा राजनीतिक चहलपहलले जिल्लालाई विशिष्ट स्थान दिएको छ। यस्तो अवस्थामा एसपी पुरीले चितवनलाई “सुरक्षाको दृष्टिकोणले नमूना जिल्ला बनाउने” दृढ संकल्प व्यक्त गरेका छन्।
उनले भने, “शान्ति सुरक्षा कायम राख्नका लागि प्रहरी संगठन एक्लैले पुग्दैन। सञ्चारकर्मी, नागरिक समाज, स्थानिय तह, व्यवसायी र आमजनताको सहकार्य आवश्यक हुन्छ।” उनले समाजमा हुने सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि अग्रिम सूचना संकलन, छरितो अनुगमन र परिष्कृत तरिकाले निर्ममता पूर्वक अपराध नियन्त्रण गर्ने रणनीति अघि सारे।
“निर्ममता र परिष्कृत ढंग: प्रहरी कार्यशैलीको मूल आधार”
भेटमा एसपी पुरीले आफ्नो कार्यशैलीका बारेमा पनि प्रकाश पारे। “म एकदम परिष्कृत ढंगले, तर आवश्यक पर्दा निर्ममता देखाएर काम गर्ने मान्यता राख्छु,” उनले स्पष्ट पारे। अपराधको मूल जरा उखेलेर फाल्ने नीतिमा आफू चल्ने भन्दै उनले जनताको विश्वास जित्ने गरी काम गर्ने बताउँदै कानूनको शासन र जनताको सुरक्षालाई सधैं प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए।
चितवनमा हुने मापसे नियन्त्रण, लागूऔषध कारोबार, घरेलु हिंसा, गुण्डागर्दी, चोरी, ठगी लगायत अपराधहरू नियन्त्रण गर्न प्रभावकारी योजना बनाएर अघि बढ्ने तयारी उनले सार्वजनिक गरे।
अन्त्यमा, एसपी पुरीले सञ्चारकर्मीहरूसँग नियमित संवाद कायम राखी जिल्ला प्रहरीको कार्यसम्पादन पारदर्शी र जनउत्तरदायी बनाउने वाचा गरे। “सही सूचना प्रवाह र साँचो समाचार लेख्ने सञ्चारकर्मीहरू प्रहरीका अभिन्न सहयात्री हुन्,” उनले भने।
चितवनको सुरक्षा अब मजबुत बनाउने जिम्मेवारीसहित, एसपी पुरी आफ्नो पूर्ण कार्यकालसम्म जिल्लामा शान्ति सुरक्षाको नमूना कायम गर्न अग्रसर देखिएका छन्।



