
जनकपुर — मधेश प्रदेश प्रहरी कार्यालयका नवनियुक्त प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले तस्करी र आपराधिक क्रियाकलापमा संलग्नहरूलाई कडा सन्देश दिएका छन्। पदभार सम्हालेपछि पहिलो पटक जिल्ला प्रहरी कार्यालय रौतहट र सर्लाहीको निरीक्षण गरेका डिआईजी चतुर्वेदीले “कानूनको शासन लागू गर्न प्रहरी कटिबद्ध हुनुपर्छ” भन्ने स्पष्ट संकेत दिएका छन्।
मंगलवार रौतहट पुग्दा प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीसहितका युनिट इञ्चार्जहरूले डिआईजीलाई स्वागत गरेका थिए। प्रहरी कार्यालयको सम्पूर्ण संरचना—थुनुवा कक्ष, मुदाशाखा, हतियार कक्षदेखि जनशक्ति व्यवस्थासम्म—निरीक्षण गर्दै उनले उपस्थित सम्पूर्ण प्रमुखहरूलाई एकै ठाउँमा राखेर जिम्मेवारीप्रति गम्भीर बन्न निर्देशन दिए।

उनले भने, “सत्य, सेवा, सुरक्षा हाम्रो मूल मन्त्र हो। नागरिकको सुरक्षामा कुनै पनि लापरवाही स्वीकार्य छैन।” उनले भारत सीमा नजिकैका जिल्लामा विशेष ध्यान दिँदै तस्करी, फरार प्रतिवादी पक्राउ, घुमुवा प्रहरीको दुरुपयोग, र बिचौलियाको गतिविधि निषेधमा जोड दिए।
डिआईजी चतुर्वेदीको निर्देशनमा नागरिक समस्या सुन्ने र छिटो समाधान गर्ने प्रहरी संस्कारको अपेक्षा झल्किएको छ। “तस्करी नियन्त्रण मात्र होइन, प्रहरीको आचरण सुधार पनि मेरो प्राथमिकता हो,” न्युज कारखाना सँगको कुराकानीमा उनले स्पष्ट पारे।
यसअघि मधेश प्रदेशका डिआईजी रहेका लालमणि आचार्य एआईजीमा बढुवा भएपछि चतुर्वेदीले सो जिम्मेवारी सम्हालेका हुन्। चतुर्वेदीको आगमनसँगै मधेश प्रदेशमा प्रहरी नेतृत्व थप सक्रिय र जवाफदेही बन्ने अपेक्षा गरिएको छ।



