संखुवासभा, वैशाख १५ – संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा ७२ वर्षीय वृद्ध मिनबहादुर कुमालको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक महिला र तीन नाबालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार हत्या अभियोगमा मृतकको ४५ वर्षीया बुहारी, उनकी १३ वर्षीया छोरी र १७ वर्षका दुई किशोरलाई पक्राउ गरिएको हो। ती किशोरहरू १३ वर्षीया बालिकाका साथी रहेको बताइएको छ।

घटना वैशाख १३ गते राति करिब साढे १० बजे घटेको हो। सो समयमा मिनबहादुर आफ्नै घरमा सुतिरहेकै अवस्थामा दुई जना व्यक्तिले प्रवेश गरी उनीमाथि आक्रमण गरेका थिए। प्रारम्भिक सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।

प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानमा यो हत्या पारिवारिक कारणले योजनाबद्ध रूपमा गरिएको आशंका गरिएको छ। डीएसपी दक्षकुमार बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोलीले तथ्य संकलन गर्दै आरोपितलाई नियन्त्रणमा लिएको हो।

हत्या पछाडिको कारण र अन्य संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले बताएको छ।

यस घटनाले स्थानीय क्षेत्रमा निकै चासो र त्रास फैलाएको छ। परिवारभित्रकै व्यक्तिहरूबाट यस्ता जघन्य घटना हुनु दुःखद् भएको स्थानीयवासीहरूले प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय