काठमाण्डौं— नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाण्डौको मिति २०८०।१२।२८ गतेको पत्रादेशअनुसार जिल्ला प्रहरी कार्यालय बॅाकेको नयाँ कार्यालय प्रमुखको रूपमा सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले एक औपचारिक तथा आत्मीय कार्यक्रमबीच पदभार ग्रहण गर्नुभएको छ।


उक्त कार्यक्रममा उहाँलाई स्वागत गर्दै जिल्ला प्रहरी कार्यालयका अधिकृतहरू, मातहत इकाईका प्रतिनिधिहरू तथा सुरक्षाकर्मीहरू उपस्थित थिए।

पदभार ग्रहण गर्दै एसपी घर्ती मगरले प्रहरी संगठनप्रति आफ्नो समर्पण व्यक्त गर्दै राष्ट्र, समाज र नागरिकको सुरक्षाप्रति प्रहरीको भूमिका झनै संवेदनशील र जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

“प्रहरी संगठनभित्रको आचरण र व्यवहारले मात्र होइन, नागरिकसँगको विश्वास र पारदर्शिता पनि सुरक्षा सेवाको मेरुदण्ड हो,” उहाँले भन्नुभयो।

उहाँले प्रहरी आचरण, सेवा सुधार, पारदर्शिता, जवाफदेहिता र सहकार्यलाई प्राथमिकतामा राखेर जनतालाई केन्द्रमा राखी सेवा प्रदान गर्नुपर्नेमा विशेष जोड दिनुभयो।

“प्रहरीको काम केवल कानुन कार्यान्वयनमा सीमित छैन, हामी नागरिकको जीवनशैली र सुरक्षाको संरक्षक हौं,” उहाँले स्पष्ट पार्नुभयो।

एसपी घर्तीले व्यक्तिगत स्वार्थभन्दा पनि संस्थागत हित र नागरिकको विश्वासप्रति केन्द्रित भएर कार्य गर्नुपर्ने धारणा राख्दै संगठनभित्र एकता, अनुशासन र कार्यक्षमताको सुदृढिकरणमा आफनो ध्यान केन्द्रित रहने प्रतिवद्धता जनाउनुभयो।

“हामी आ-आफ्नो कार्यक्षेत्रमा सामूहिक भावनाका साथ जिम्मेवारी निर्वाह गर्न सक्यौं भने प्रहरी सेवामा आमूल परिवर्तन सम्भव छ,” उहाँको भनाइ थियो।

पूर्व प्रमुख तुल बहादुर कार्कीलाई सम्मानपूर्वक बिदाई

सोही अवसरमा, नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको मिति २०८२।०१।१५ को आदेशानुसार नेपाल प्रहरी प्रदेश कार्यालय, पोखरा कास्की काज सरुवा भई जान लाग्नुभएका यस कार्यालयका पूर्व कार्यालय प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीलाई बिदाई गरिएको थियो।

उहाँको कार्यकालमा अपराध नियन्त्रण, संगठनात्मक व्यवस्थापन, जनसहभागिता र सेवा सहजताको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै बिदाई कार्यक्रमलाई प्रेरणादायी बनाइएको थियो।

कार्यक्रममा उहाँलाई पारिवारिक तथा व्यवसायिक जीवनमा अझ उच्च सफलता र दीर्घायुको शुभकामना दिइयो, साथै सम्मान स्वरूप मायाको चिनो पनि प्रदान गरिएको थियो।कार्यक्रममा उच्च सहभागिता, प्रहरी संगठनको एकता झल्कियो

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बॅाके विभिन्न शाखाहरूमा कार्यरत वरिष्ठ र कनिष्ठ प्रहरी अधिकृतहरू, हवल्दार, जवान तथा अन्य कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले प्रहरी संगठनभित्रको आपसी सद्भाव, जिम्मेवारीबोध र अनुशासनको प्रतिविम्ब प्रस्तुत गरेको सहभागीहरूको भनाइ छ।

संगठनमा आउने नेतृत्व परिवर्तनले सेवा सुधारमा नवीन सोच र गतिशीलता ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय