सुरक्षा सरोकार / काठमाण्डौं—गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल नेपाली काँग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन्। नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले सरकार आपसी सहमतिमा सञ्चालन भइरहेकाे बताए।

“साथीहरूले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ, अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ,” गृहमन्त्री लेखकले टिप्पणी गरे। उनले लोकतन्त्र र संविधान विरोधी गतिविधिहरूलाई जनताले अस्वीकार गरिसकेको स्पष्ट गर्दै संवैधानिक स्थायित्व र लोकतान्त्रिक मूल्यप्रति सरकारले प्रतिबद्धता व्यक्त गरेको बताए।

लोकतन्त्र र सञ्चारमाध्यमप्रतिको प्रतिबद्धता

गृहमन्त्री लेखकले स्वतन्त्र प्रेस र सञ्चारमाध्यम लोकतन्त्रका मूल आधार भएको उल्लेख गर्दै भने, “लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार सधैं सञ्चारमाध्यममै पर्ने गर्छ। त्यसैले सञ्चार क्षेत्रको सुरक्षा लोकतन्त्रको रक्षा हो।”

संविधान स्थायित्वको पक्षमा सरकार

देशमा सात दशकको अवधिमा सात वटा संविधान निर्माण हुनु अस्थिरताको संकेत भएको उल्लेख गर्दै उनले वर्तमान संविधान निष्क्रिय हुन नदिइने बताए। “हामीले विगतका कमीकमजोरीबाट सिक्नुपर्छ र भविष्यमा पुनः त्यस्तो नहोस् भन्नेमा सजग रहनुपर्छ,” उनले थपे।

गृहमन्त्री लेखकले आमाका नाममा नागरिकता प्रमाणपत्र जारी गर्नेसम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्न तयारी भइसकेको जानकारी दिए। यस विषयमा चाँडै समाधान आउने विश्वास व्यक्त गर्दै उनले भने, “यो समस्यालाई हामी गम्भीरताका साथ लिएका छौं।”

गभर्नर नियुक्तिमा कुनै समस्या नरहेको उल्लेख गर्दै उनले योग्य व्यक्तिलाई उपयुक्त स्थानमा नियुक्त गरिने बताए। शिक्षकहरूले उठाएका मागप्रति सरकारले सकारात्मक ध्यान दिएको र तिनीहरूको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय