
कैलाली– जिल्ला प्रहरी कार्यालय कैलालीले एसपी पदमबहादुर विष्टको नेतृत्वमा एक वर्षको अवधिमा ६३७ फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ।
२०७९ फागुनदेखि चैतसम्म फरार प्रतिवादी नियन्त्रणमा लिन एसपी विष्टले आक्रामक रणनीति अपनाएका थिए। यो अवधिमा १७३ वर्ष २ दिनको कैद र १ करोड २६ लाखभन्दा बढी जरिवाना असुली गरिएको छ।

त्यसैगरी, लागुऔषध मुद्दामा ७७० जनालाई पक्राउ गरिएको छ भने ११ करोडभन्दा बढीको अवैध सामान बरामद गरी भन्सार बुझाइएको छ। जुवातास, काठ तस्करी, वालुवा उत्खननजस्ता अवैध कार्यमा संलग्न सयौंलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
त्यस्तै, हत्या, सुन तस्करी, कारागारबाट फरार रहेका दोषीहरूको पक्राउ, रहस्यमय मृत्युसम्बन्धी अनुसन्धानमा पनि कैलाली प्रहरीले महत्वपूर्ण सफलता हासिल गरेको छ।
सक्रिय नेतृत्व, अनुसन्धान र समन्वयात्मक प्रयासले कैलाली प्रहरीको एक वर्षको कार्यकाल उल्लेखनीय बनेको प्रहरीको भनाइ छ।



