
काठमाण्डौं— मकवानपुरको विकट कैलाश गाउँपालिकामा लागुऔषध तस्करीको टोली र प्रहरीबीच घम्साघम्सी हुँदा लुटिएको पेस्तोल जंगलमा फेला परेको छ।
कैलाश गाउँपालिका-६, दुम्सीखर्कको जंगलमा सोमबार दिउँसो तस्करहरूले लुटेको टाइप-५४ पेस्तोल मंगलबार बिहान बोल्नेलेकको जंगलमा फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिएका छन्। ७ राउण्ड गोली लोड भएको उक्त पेस्तोल धादिङको गजुरी जाने बाटोमा फेला परेको हो।

झडपपछि प्रहरीको पेस्तोल लुटियो—
लागुऔषध अफिम तस्करी भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङ र सहायक हवल्दार गोविन्द्र मंग्राती दुम्सीखर्कको जंगलमा पुगेका थिए। त्यहाँ तस्करहरूको टोलीसँग जम्का भेट भएपछि घम्साघम्सी भएको र तस्करहरूले हवल्दार तामाङको साथबाट पेस्तोल लुटेको डीएसपी अर्यालले जानकारी दिए।
तस्करहरूको रणनीति: मोटरसाइकलमा आएका दुई जनाले बोलाए थप १० जना
प्रहरीका अनुसार, सुरुवाती रूपमा मोटरसाइकलमा आएका दुई जना तस्करले २ केजी अफिम बोकेका थिए। प्रहरीले शंका गरेपछि उनीहरूले थप १० जनाको समूहलाई बोलाएका थिए। प्रहरी र तस्करहरूको भिडन्त भएपछि उनीहरू पेस्तोल लुटेर फरार भएका थिए।
तस्करहरूको खोजी जारी—
डीएसपी अर्यालका अनुसार, तस्करहरूको पहिचान अझै हुन सकेको छैन। ‘उनीहरूको खोजी जारी छ, अनुसन्धानका लागि थप प्रहरी परिचालन गरिएको छ—आरोपीहरूको खोजीमा ईप्रका मकवानपुरका इन्स्पेक्टर सविनबावु अर्याल, मनहरीका इन्स्पेक्टर विशाल सापकोटा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्याल र धादिङ स्थित इलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर सुमन चापागाईं खटिएका छन् ।
प्रहरीले मकवानपुरको कैलाश गाउँपालिकामा लागुऔषध कारोबारबारे थप सूचना संकलन गरिरहेको जनाएको छ।



