
काठमाण्डौं— नवलपरासी पश्चिमस्थित नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा सञ्चालन भएको दशौं समूहको प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम को दीक्षान्त समारोह प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा को प्रमुख आतिथ्यमा मंगलबार सम्पन्न भयो।
समारोहमा आईजीपी थापाले तालिमका विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुका साथै प्रशिक्षकहरू र तालिम सफल बनाउन विशेष योगदान दिने महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभयो।

सम्बोधनको क्रममा आईजीपी थापाले नेपाल प्रहरीमा सञ्चालन हुने तालिमहरूमध्ये सबैभन्दा कठिन मानिने यो तालिम सफलतापूर्वक पूरा गर्नु आफैंमा ठूलो उपलब्धि भएको बताउनुभयो। उहाँका अनुसार यो तालिमले प्रहरी कारबाहीका क्रममा आइपर्न सक्ने चुनौतीपूर्ण परिस्थितिहरूमा आवश्यक पर्ने रणनीति, ज्ञान, सीप, र कलाहरूको सुसंगत प्रयोग गर्न सक्षम योग्य जनशक्ति तयार गरेको छ।
आईजीपी थापाले शारीरिक र मानसिक तन्दुरुस्तीका साथै व्यक्तिगत इच्छाशक्ति, निष्ठा, स्वविवेक, र साहस आवश्यक पर्ने यस तालिमले प्रहरी कर्ममा व्यावसायिक सफलता प्राप्त गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।




