काठमाडौं —  २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँसहित सिन्धुपाल्चोकका कुसाङ लामा पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार राति ११ बजे काठमाडौंको टोखा रोड नजिक झोरबाट नियन्त्रणमा लिएको हो।

ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम लुकाई केरुङतर्फ लैजाने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजी कुमार आचार्यका अनुसार, लामा आफैं ट्रक चलाएर उक्त रकम लिएर केरुङ नाकातर्फ जाँदै थिए। बरामद रकम अमेरिकी डलर र युरोमा रहेको थियो, जसको नेपाली मूल्य २५ करोडभन्दा बढी पर्न जान्छ।

प्रारम्भिक अनुसन्धानमा लामा भरियाको रूपमा कार्यरत रहेको देखिएको छ। तर, उनले कसको लागि काम गरिरहेका थिए भन्ने खुलेको छैन। प्रवक्ता आचार्यका अनुसार, लामाले बयानमा आफूले सामाखुसीको एउटा ग्यारेजमा ट्रक राखेका बेला अपरिचित व्यक्तिहरू आएर केरुङ पुर्‍याउन रकम दिएको बताएका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार, पक्राउ परेका ४३ वर्षीय कुसाङ लामा “फुच्चे” नामले परिचित छन्। उनी सुन तस्करीमा संलग्न रहेको बताइएको छ। लामाले आफ्नै ट्रक चलाएर सुन ओसारपसार गर्ने र तस्करहरूसँग मिलेमतो गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यसअघि २०७३ पुस १३ गते लामा ७ किलो सुनसहित पक्राउ परेका थिए। त्यसक्रममा उनले पाँच वर्षको जेल सजाय भोगेर छुटेका थिए। जेलमुक्त भएपछि पनि उनी अवैध कारोबारमै सक्रिय रहेको प्रहरीको दाबी छ। हाल उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको छ। प्रहरीले लामासँगै २५ करोडभन्दा बढी रकम, दुई थान मोबाइल र ट्रक बरामद गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय