
इलाम – जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोईरालाले मातहत प्रहरी इकाईको निरीक्षण तथा अनुगमन गर्नुका साथै स्थानीय बासिन्दासँग अन्तरक्रिया कार्यक्रम गरेका छन्।
आज इलाका प्रहरी कार्यालय मानेभञ्याङको निरीक्षण भ्रमणपछि उनले प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिँदै “प्रहरी शासक होइन, सेवक हो” भन्ने धारणा आत्मसात् गर्न आग्रह गरे। उनले कानूनको परिधिभित्र रही जनचाहनाअनुसार सुरक्षा प्रदान गर्न, अनुशासनमा रहेर व्यावसायिक सेवा दिन, कुनै पनि प्रलोभन र मोलाहिजामा नपरी शून्य सहनशीलताका साथ कार्य गर्न तथा अपराध अनुसन्धानमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिए।

नेपाल–भारत खुला सिमानाका कारण हुने विभिन्न आपराधिक गतिविधि, चोरी तथा तस्करी नियन्त्रण गर्न उनले लामो तथा छोटो दूरीका प्रहरी गस्तीहरू सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिए। साथै, दैनिक काम कारबाहीलाई चुस्त-दुरुस्त राख्दै अभिलेखिकरणलाई व्यवस्थित गर्न र आम सेवाग्राहीहरूसँग समान व्यवहार गर्न आग्रह गरे।
स्थानीयसँग अन्तरक्रिया र प्रतिवद्धता—
निरीक्षण भ्रमणकै क्रममा एसपी कोईरालाले नेपाल–भारत सीमा क्षेत्रको अवलोकन गरे। साथै, स्थानीय बासिन्दासँग परिचयात्मक भेटघाट गर्दै इलाम जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा समसामयिक विषयहरूमा छलफल गरेका छन्। उनले नागरिकका राय, सुझावलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे।




