
काठमाण्डौं — प्रहरीले साली हत्याको आरोपमा भिनाजु र उनकी बुहारीलाई नियन्त्रणमा लिएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका-१, भुरिगाउँमा घर भाडामा बस्दै आएकी ३९ वर्षीया राधा बोहोराको फागुन ४ गते घरभित्रै रहस्यमय मृत्यु भएको थियो।
घटनाको अनुसन्धानका क्रममा मृतककी भिनाजु ६९ वर्षीय शान्तबहादुर खत्री र उनकी बुहारी २४ वर्षीया उमाकुमारी खत्री संलग्न रहेको देखिएपछि बर्दिया जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराई दुबैजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी ऋषिराम घर्तीमगरले जानकारी दिए।

फागुन ४ गते बिहान १०:३० बजे स्थानीयहरूले मृतक बोहोराको सुत्ने कोठाको ढोका बाहिरबाट ताल्चा लगाइएको अवस्थामा फेला पारेका थिए। जनप्रतिनिधिहरूको रोहबरमा ताल्चा फोडी जाँच गर्दा उनको शव बाँसको खामोमा झुन्डिएको अवस्थामा भेटिएको थियो।
प्रहरीले घटनास्थलको मुचुल्का उठाई अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा मृतकका भिनाजु र निजकी बुहारीको संलग्नता देखिएपछि थप अनुसन्धानका लागि दुबैजनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ।



