
हिजो पुलिस क्लबको नयाँ भवन उद्घाटन समारोहमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजीपी) दिपक थापा सम्मानित भएको समाचार पढेँ। सम्माननीय प्रधानमन्त्रीको हातबाट उनले सम्मान पाउनु स्वाभाविकै लाग्यो। सम्मान लिने–दिने क्रम त दैनिकजसो भइरहन्छ, तर कहिलेकाहीँ सम्मान लिने व्यक्तिले त्यो योग्य छ कि छैन भन्ने प्रश्न उठ्न सक्छ। तर, दिपक थापाको हकमा यस्तो देखिएन। थापा सरसहित सम्मानित सबैलाई बधाई।
जहाँसम्म पुलिस क्लबको नयाँ भवन निर्माणमा योगदानको कुरा छ, म बुझेसम्म यसको सुरुआत तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) प्रदीप शमशेर जबराले गरेका थिए। म त्यतिबेला उनको प्रमुख पी.ए. थिएँ, त्यसैले मलाई राम्ररी थाहा छ— पुलिस क्लबलाई आधुनिक सभा केन्द्रका रूपमा निर्माण गर्ने मास्टर प्लान र नक्सा उनकै पालामा बनेको थियो। इन्जिनियर रञ्जन सिंह शाहमार्फत कामसमेत सुरु भइसकेको थियो। तर, पछि आईजीपी श्यामभक्त थापाको कार्यकालमा उक्त परियोजना नराम्ररी तुहियो। उनको कार्यकाल पुलिस क्लबको विकासका लागि अवरोधकै रूपमा रह्यो।

त्यसपछि कसले के योगदान गर्यो भन्ने जानकारी मलाई छैन, किनकि म जागिरमै थिइनँ। तर, सुनेअनुसार, आईजीपी सर्वेन्द्र खनालको पालामा क्लबको आधुनिकीकरणमा ठूलो योगदान रह्यो। आज उक्त नयाँ भवन उद्घाटन भएको सुन्दा मलाई प्रदीप शमशेर जबरा सरको सम्झना आयो, किनकि उनको नेतृत्वमा यो संरचनाको कल्पना गरिएको थियो।
दिपक थापाले यस अवसरमा सम्मान पाउनु स्वाभाविक छ। पहिलो, उनले नै भवन निर्माण कार्यलाई अन्तिम रूप दिए। दोस्रो, डिएसपी तहदेखि नै प्रहरी संगठनका भवन निर्माण, स्रोत-साधन जुटाउने कार्यमा उनको योगदान सधैं विशिष्ट रह्यो। दिपक थापा कठिन परिस्थितिमा पनि सरल रूपमा प्रहरी नेतृत्व सम्हाल्न सफल अधिकृत हुन्। विवादित समयमै पनि विवादरहित भूमिका निर्वाह गर्ने उनको क्षमता देखिन्छ। प्रहरी प्रधान कार्यालय, काठमाडौं प्रहरी परिसर (मेट्रो), तथा अपराध महाशाखा (सीआईबी) लगायत विभिन्न पदमा रहँदा उनले देखाएको कुशल नेतृत्व प्रशंसनीय छ।
जब म नेपाल पूर्व प्रहरी संगठनको अध्यक्ष भएँ, तब मात्रै मैले उनलाई नजिकबाट चिन्ने अवसर पाएँ। त्यतिबेला महसुस भयो— “यी साधारण अफिसर मात्र होइनन्, उनीमा विशिष्ट क्षमता पनि छ।” सकारात्मक सोच राख्ने एक कुशल नेतृत्वकर्ता हुन्। म ढुक्कसँग भन्न सक्छु— यदि दिपक थापा नभएका भए, पूर्व प्रहरीहरूले बहालवाला सरह स्वास्थ्य सेवा कहिल्यै पाउने थिएनन्। नेपाल पूर्व प्रहरी संगठन दिपक थापाप्रति उच्च सम्मान व्यक्त गर्दछ।
कति अफिसरहरू आफ्नो पद बढेपछि घमण्ड देखाउने गर्छन्, जुन हामीले रुचाउँदैनौं। तर, दिपक थापाले सधैं सिनियर अधिकारीहरूलाई सम्मान गर्दै आएको पाइन्छ। त्यसैले, हामी पनि उनलाई उच्च सम्मानका साथ हेरिरहेका छौं। उनी अनुशासित, सम्मानभाव राख्ने, सबैलाई समेटेर लैजान सक्ने अधिकारी हुन्।
प्रधानमन्त्रीबाट सम्मान पाउनु केवल व्यक्तिगत उपलब्धि मात्र होइन, यो सम्पूर्ण प्रहरी संगठनको लागि गौरवको विषय हो। नेपाल पूर्व प्रहरी संगठन उनको प्रगतिको कामना गर्दै, पूर्व प्रहरीका हकहितका लागि उनी अझ उच्च पदमा पुग्न आवश्यक छ भन्ने ठान्छ। पूर्व प्रहरीको सम्मान, सेवा तथा थप सुविधाका लागि दिपक थापा प्रहरी संगठनको सर्वोच्च पदमा पुग्न आवश्यक छ भन्ने मेरो व्यक्तिगत अनुभव र धारणा हो।
लेखक – बसन्त कुँवर अवकाश प्राप्त पुर्व प्रहरी अफिसर हुनहुन्छ !



