काठमाण्डौं— कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरले लागु औषध नियन्त्रण अभियानअन्तर्गत दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। प्रहरीले मंगलबार साँझ ३ बजे कृष्णनगर भन्सार कार्यालयअगाडि चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बा ६१ प ८५५४ नम्बरको मोटरसाइकलबाट ब्राउन सुगर बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार पक्राउ पर्नेहरूमा विजयनगर गाउँपालिका–४, बरगदाका २८ वर्षीय मतिउल्ला मुसलमान र वडा–३, कडिहारका २५ वर्षीय मैराज अहमद रहेका छन्।

प्रहरीले खानतलासी गर्दा मतिउल्ला मुसलमानको साथबाट ४ पुडिया ब्राउन सुगर (कुल ८२० मिलिग्राम), ब्लेडको टुक्रा, टेक्ना कम्पनीको मोबाइल, रातो-कालो रङको पल्सर मोटरसाइकल तथा मैराज अहमदको साथबाट भिभा कम्पनीको मोबाइल फेला परेको छ।

लागु औषध नियन्त्रण अभियानअन्तर्गत लगातार सफलता हासिल गर्दै आएको इलाका प्रहरी कार्यालय कृष्णनगरले यसअघि पनि विभिन्न प्रकारका लागु औषधसहित कारोबारमा संलग्न तथा सेवनकर्ताहरूलाई पक्राउ गरेको छ। प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा सञ्चालन भइरहेको अभियानप्रति स्थानीयबासीले खुलेर प्रशंसा गरेका छन्।

पक्राउ परेका दुवै जनाविरुद्ध अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय