
काठमाडौँ । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालहरू तथा केही समाचार पोर्टलहरूमा इसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको जस्ता समाचारहरू प्रकाशित भइरहेको भन्दै त्यस्ता समाचारहरुको पछि नलाग्न इसेवाले अनुरोध गरेको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै इसेवाले केही अनलाइन समाचार पोर्टलहरू इसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनी प्रकाशित खबरले इसेवा प्रयोगकर्ताहरुमा अनावश्यक त्रास र भ्रम सिर्जना भएको भन्दै इसेवाको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

इसेवाको १६ वर्षको इतिहासमा इसेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेकोसमेत इसेवाले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सर्वप्रथम इसेवा लगायतका नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरु त्था मर्चेन्टहरुको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था नरहेको जानकारी गराउन चाहन्छौँ । भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ अनुसार इसेवाजस्ता डिजिटल वालेटहरुको कुनै ‘क’ वर्गको वाणिज्य बैंकमा सेटलमेन्ट खातामा हुनु पर्ने प्रावधान रहेको छ ।’
इसेवाले अगाडि भनेको छ, ‘सोही प्रावधान अनुसार प्रयोगकर्ताहरुको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैंक खातामा जम्मा हुन्छ । यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित राख्दछ । इसेवाको हकमा पनि यहीँ कुरा लागू हुने भएकोले हाल सामजिक सञ्जालहरूमा भ्रम सिर्जना गर्ने उद्देश्यले प्रकाशित गरिएको खबरहरुलाई दुरुत्साहन गरिन्छ ।’
इसेवाले अन्त्यमा भनेको छ, ‘आम जनतालाई यस्ता भ्रामक समाचारहरूको विश्वास नगरी सत्य तथ्यमा विश्वास गर्न इसेवा आग्रह गर्दछ । इसेवामा रहेको ग्राहकको रकम पूर्ण रुपमा सुरक्षित रहेकोमा इसेवा विश्वस्त पार्न चाहन्छ ।’



