
पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि मानवअधिकार आयोगको टोलीले लामिछानेसँग भेट गरेको छ ।
आयोगको पोखरास्थित गण्डकी प्रदेश कार्यालयबाट प्रमुख नीतु गर्तौला र मानवअधिकार अधिकृत टंक खनालसहितको टोलीले कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई शुक्रबार भेट गरेको हो । भेटका क्रममा लामिछानेले आफूलाई अपहरणको शैलीमा चितवनबाट पोखरा ल्याइएको गुनासो गरेका छन् ।

भोलिपल्ट विमानमार्फत पोखरा जाने बताइए पनि आफू सुतेको अवस्थामा एक्कासि उठाएर अपहरण शैलीमा रातारात पोखरा ल्याइपु¥याएको गुनासो गरेको उनको भनाइ उद्धृत गर्दै मानवअधिकार अधिकृत टंक खनालले भने । खनालका अनुसार घन्टौंसम्म बयानका दिँदा सो दिन लामिछानेले ‘आफूलाई धपेडी भएको र सामान्य स्वास्थ्य चेकजाँच (प्रेसर चेक) गरौं, परिवारका सदस्य तथा आफ्ना वकिललाई खबर गर्नुहोस्’ भन्दा पनि प्रहरीले नमानेका बताएका छन् ।
राति सवा १२ बजे उठाएर स्थलमार्ग हुँदै रातारात पोखरा ल्याइएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य स्वास्थ्य चेकजाँच भएको थियो । जसमा उनको उच्च रक्तचाप १८०–९० भएको पाइएको थियो । लामिछानेलाई बिहीबार बिहान साढे ३ बजेतिर मात्र पोखरा ल्याइएको थियो । हिरासतमा राख्नुअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य चेक जाँच भएको हो ।
पोखरा ल्याइनुपूर्व जिल्ला सहकारी वकिल कार्यालयमा चितवनको सहारा सहकारीको रकम अपचलन मुद्दामा बिहानदेखि राति ९ बजेसम्म लगातार बयान दिएका थिए । उनले खानासमेत त्यही खाएका थिए । अत्यन्तै टाउको दुखेकाले आफूले औषधि सेवन गरेको आयोगको टोलीलाई उनले जानकारी गराएका छन् ।
लामिछानेको भनाइ उद्धृत गर्दै मानवअधिकार अधिकृत खनालले भने, ‘भोलिपल्ट जाने भनिएकोमा राति एक्कासि ल उठ भन्दै अपहरणको शैलीमा ल्याइयो । यहाँ आएर ब्लड प्रेसर चेक गर्दा १८०-९० देखियो । क्रिटिकल अवस्थामा मेरो स्वास्थ्य तलमाथि केही भएको भए के हुन्थ्यो ?’ साथै, उनको मुख्य गुनासो भनेको, परिवारका सदस्यलाई पनि खबर नगर्नु, आफ्नो वकिललाई पनि खबर नगरी एक्कासि अपहरण शैलीमा ल्याइएको भन्ने गुनासो रहेको खनालले जानकारी दिए ।
लामिछानेसँग भेटपछि आयोगको गण्डकी प्रदेश कार्यालयले रिपोर्ट केन्द्रीय कार्यालय पठाउने खनालले बताए ।



