
काठमाडौं । नेपाल प्रहरीका कुशल, इमानदार र अनुभवी अधिकृत प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जिल्ला प्रहरी कार्यालय तनहुँको प्रमुखको जिम्मेवारी पाएका छन्। विभिन्न जिम्मेवारीमा आफ्नो व्यावसायिक दक्षता, नेतृत्व क्षमता र कार्यसम्पादनमार्फत पहिचान बनाएका सुवेदीलाई तनहुँ प्रहरीको कमाण्ड प्राप्त हुनुलाई महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ।
यसअघि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सम्हालिसकेका सुवेदीले ट्राफिक व्यवस्थापन, सडक अनुशासन कायम, सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।

उपत्यकामा बढ्दो ट्राफिक चुनौतीका बीच मोडिफाई गरिएका सवारीसाधनमाथि नियन्त्रण, नियमविपरीत सञ्चालन हुने सवारीसाधनविरुद्ध नियमित कारबाही तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन उनले सक्रिय भूमिका खेलेका थिए। प्रवक्ताको जिम्मेवारीमा रहँदा सञ्चारमाध्यमसँगको समन्वय र सूचना प्रवाहमा समेत उनको भूमिका महत्वपूर्ण रहेको थियो।
विशेषगरी जेनजी आन्दोलनका क्रममा प्रभावित बनेको ट्राफिक प्रहरीको मनोबल उकास्न र संगठनभित्र व्यावसायिक आत्मविश्वास कायम राख्न उनले देखाएको सक्रियता प्रशंसनीय रहेको छ। त्यसैगरी, २०८२ फागुनमा सम्पन्न निर्वाचन अवधिभर जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड सम्हाल्दै शान्ति सुरक्षा व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
सुवेदीलाई फरक–फरक प्रकृतिका जिम्मेवारीमा काम गरेको अनुभव भएका अधिकृतका रूपमा लिइन्छ। संगठनभित्र मातहतका कर्मचारीसँग सरल, नम्र र समन्वयात्मक व्यवहार गर्ने नेतृत्वकर्ताका रूपमा समेत उनको छवि रहेको छ। प्रहरी संगठनको अनुशासन र व्यावसायिकतालाई प्राथमिकता दिँदै कर्मचारीको मनोबल उच्च राख्ने उनको कार्यशैलीलाई सकारात्मक रूपमा लिइन्छ।
अब तनहुँ जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमा रहँदा उनले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धानलाई प्रभावकारी बनाउने, नागरिकमैत्री प्रहरी सेवा प्रवाह तथा प्रहरीप्रति जनविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
भौगोलिक, सामाजिक तथा सुरक्षा संवेदनशीलताका दृष्टिले महत्वपूर्ण मानिने तनहुँमा प्रहरी प्रमुखका रूपमा सुवेदीसामु विभिन्न चुनौती र अवसर दुवै रहनेछन्। ती चुनौतीलाई कुशल व्यवस्थापन, निष्पक्ष कार्यसम्पादन र नागरिकसँगको सहकार्यबाट सम्बोधन गर्न सक्ने क्षमता उनीसँग रहेको विश्वास गरिएको छ।
एक काबिल, इमानदार र व्यावसायिक प्रहरी अधिकृतका रूपमा परिचित सुवेदीको नेतृत्वमा तनहुँ प्रहरीको सेवा प्रवाह थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ। उनको नयाँ जिम्मेवारी सफल, परिणाममुखी र उदाहरणीय बनोस्।





