काठमाडौं । प्रधानमन्त्रीका सल्लाहकार कुमार बेन र गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्कीसहित चार जनालाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै काठमाडौंका विभिन्न सरकारी निकायमा जाहेरी दर्ता गरिएको छ।

नेपाली कम्युनिष्ट पार्टी निकट वाइसीएलका केन्द्रीय सचिव डिबी ओलीले जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी दिएका हुन्।

जाहेरीमा बेन र कार्कीसँगै प्रधानमन्त्रीका सरकारी मामिला तथा योजना समन्वय संयोजक विशाल अधिकारी तथा आफूलाई प्रधानमन्त्रीको सूचना प्रविधि परामर्शदाता बताउने चिराग श्रेष्ठलाई पनि विपक्षी बनाइएको छ।

ओलीले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–४ अन्तर्गत दफा ९३ मा व्यवस्था गरिएको कसुरको प्रमाण दबाउन नहुनेसम्बन्धी प्रावधान आकर्षित हुने दाबी गर्दै उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्।

गत असोज १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका इनम सापकोटाको मोबाइल फोन कब्जामा लिई त्यसमा रहेका आफूहरूसँग सम्बन्धित प्रमाण मेटाइएको आरोप जाहेरीमा लगाइएको छ।

सापकोटा पक्राउ परेपछि उनको मोबाइल फोन प्रधानमन्त्री कार्यालय, दरबारमार्ग, भद्रकाली हुँदै ज्वागल पुगेको लोकेसन विवरणसमेत जाहेरीसँगै पेस गरिएको छ।

जाहेरीमा गृहमन्त्री सुधन गुरुङका स्वकीय सचिव जेम्स कार्की प्रहरीको डिजिटल फरेन्सिक प्रयोगशालामा उपस्थित भएर मोबाइलको फरेन्सिक परीक्षण तथा प्रतिवेदन तयार गर्ने प्रक्रियामा हस्तक्षेप गरेको आरोप लगाइएको छ।

त्यस्तै, विशाल अधिकारी प्रहरी कार्यालयको सोधपुछ कक्षमै पुगेर अनुसन्धान अधिकृतहरूसँग कुराकानी गर्दै अनुसन्धान प्रभावित पार्ने प्रयास गरेको र चिराग श्रेष्ठ पनि प्रहरी कार्यालय पुगेर डिजिटल प्रमाणसँग सम्बन्धित विषयमा हस्तक्षेप गरेको दाबी गरिएको छ।

निवेदक ओलीले अनुसन्धानका क्रममा रहेका डिजिटल प्रमाणमा अनधिकृत पहुँच पुर्‍याउने, प्रमाण मेटाउने, परिवर्तन गर्ने, लुकाउने वा प्रमाणका रूपमा प्रयोग गर्न नसकिने बनाउने कार्य भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।

जाहेरीसँगै उनले इनम सापकोटाको मोबाइल फोनको डिजिटल फरेन्सिक परीक्षण प्रतिवेदनमा उल्लेखित स्याटेलाइट नक्साका सात पानाका स्क्रिनसट, डिजिटल प्रमाणमा अनधिकृत पहुँच पुर्‍याइएको दाबीसम्बन्धी दुई पाना तथा विभिन्न तस्बिर र सीसीटीभी फुटेज समावेश गरिएको एउटा पेनड्राइभ पनि बुझाएका छन्।

उक्त आरोपबारे सम्बन्धित व्यक्तिहरूको प्रतिक्रिया तथा अनुसन्धान निकायको आधिकारिक धारणा भने सार्वजनिक विवरणमा खुलाइएको छैन। आरोप पुष्टि हुन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय