
बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा पूर्णिमा जात्राका क्रममा भएको विवादले उग्र रूप लिएपछि प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ। स्थानीयमाथि कुटपिट गर्ने समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै ढुंगामुढा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो।

मंगलबार बिहान करिब ४ बजे मादक पदार्थ सेवन गरेका १५ जनाको समूहले स्थानीय ४२ वर्षीय प्रेमबहादुर थापामाथि कुटपिट गरेको प्रहरीको भनाइ छ।
मनोज सुनार, दीपक सुनार र दिनेश सुनारलगायतको समूहले थापामाथि कुटपिट गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी नायब निरीक्षक डिलबहादुर गिरीको कमान्डमा ११ जनाको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले उक्त समूहलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि ढुंगामुढा हुन थालेपछि अवस्था नियन्त्रणमा लिन ८ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ।
कुटपिटबाट घाइते थापाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। घटनामा संलग्न रहेको आरोपमा २३ वर्षीय मनोज सुनारलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुर पठाएको छ। अन्य संलग्न व्यक्तिको खोजी भइरहेको छ।
ढुंगामुढाका क्रममा प्रहरी नायब निरीक्षक गिरीसहित प्रहरी सहायक हवल्दार बालकृष्ण जिसी, रेशम चौधरी र प्रहरी जवान अमर खत्री घाइते भएका छन्।





