मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा यात्रुवाहक सुमो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ८ः३० बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि छुटेको ना.१ ज २१४३ नम्बरको सुमो जीप भैँसेस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको थियो।

दुर्घटनाका बेला सुमोमा चालकसहित १० जना सवार थिए। दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी भैँसे, जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। उद्धार कार्यमा नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीसमेत परिचालित भएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा १० जना, जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रमेश बिष्टको कमाण्डमा सात जना, इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमाण्डमा छ जना तथा प्रहरी चौकी भैँसेबाट ट्राफिक प्रहरीसहित चार जना गरी २७ जना प्रहरी उद्धारमा खटिएका थिए।

उद्धार गरिएका सबै १० जनालाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा बिहान ९ः२० बजे चिकित्सकले परीक्षण गर्दा तीन जनालाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते भएका बाँकी सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय