
सुर्खेत । सुर्खेतमा लागूऔषध खैरो हेरोइन कारोबारमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बलका दुई बहालवाला कर्मचारीसहित चार जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलाबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१३ का २३ वर्षीय रूपेश घर्ती मगर र २७ वर्षीय कुमारबहादुर रास्कोटी तथा वीरेन्द्रनगर नगरपालिका–१२ का ३२ वर्षीय बालाराम पौडेल र ३५ वर्षीय नवराज चालिसे रहेका छन्।
प्रहरीले सुरुमा रूपेश घर्ती मगरसहित दुई जनालाई ३.१९० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा थप दुई जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।
थप अनुसन्धानका क्रममा नवराज चालिसे र बालाराम पौडेललाई थप ८.८३० ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको हो। चारै जनाबाट गरी प्रहरीले कुल १२.०२० ग्राम खैरो हेरोइन र चार थान मोबाइल फोन बरामद गरेको छ।
सशस्त्र प्रहरीका कर्मचारीको परिचयपत्र र नियुक्तिपत्र बरामद
यस घटनामा पक्राउ परेका दुई जनाको साथबाट सशस्त्र प्रहरी बलसँग सम्बन्धित कागजातसमेत फेला परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरेका अनुसार पक्राउ परेका नवराज चालिसेको साथबाट सशस्त्र प्रहरी सहायक हवल्दारको परिचयपत्र बरामद भएको छ। त्यस्तै, रूपेश घर्ती मगरको साथबाट सशस्त्र प्रहरी परिचर पदको नियुक्तिपत्र फेला परेको प्रहरीले जनाएको छ।
बरामद कागजातका आधारमा उनीहरू सशस्त्र प्रहरी बलका बहालवाला कर्मचारी रहेको खुलेको हो। यद्यपि उनीहरूको विभागीय जिम्मेवारी, लागूऔषध कारोबारसँगको संलग्नता र घटनामा अन्य व्यक्तिको भूमिकाबारे थप अनुसन्धान हुन बाँकी छ।
सुरक्षा निकायमै कार्यरत कर्मचारी लागूऔषध कारोबारको आरोपमा पक्राउ पर्नुले सुरक्षा संगठनभित्रको अनुशासन, आचरण र जिम्मेवारीसम्बन्धी प्रश्नसमेत उठाएको छ। कानून कार्यान्वयन गर्ने निकायमा आबद्ध व्यक्तिहरू नै यस्ता गतिविधिको अनुसन्धानमा तानिनु गम्भीर विषयका रूपमा हेरिएको छ।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइयो
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरेले जनाएको छ।
प्रहरीले बरामद लागूऔषधको स्रोत, कारोबारको उद्देश्य, सम्भावित सञ्जाल तथा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान अघि बढाएको छ।
लागूऔषध नियन्त्रणका लागि प्रहरीले विभिन्न क्षेत्रमा निगरानी र अनुसन्धान तीव्र बनाइरहेका बेला सुरक्षा निकायमा कार्यरत कर्मचारीसमेत पक्राउ परेको यो घटनाले लागूऔषध कारोबारको सञ्जाल र त्यसमा संलग्न व्यक्तिहरूको पहिचान गर्न थप अनुसन्धान आवश्यक देखाएको छ।





