बुटवल । नेपाल प्रहरी प्रधान कार्यालयद्वारा प्रकाशित मासिक रिपोर्ट कार्डमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले २०८३ असोज महिनामा प्रथम स्थान हासिल गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँके दोस्रो र काठमाडौं उपत्यका प्रहरी परिसर तेस्रो स्थानमा रहेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी कार्यालयहरूको कार्यसम्पादनलाई विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरी हरेक महिना नतिजा सार्वजनिक गर्दै आएको छ। कार्यसम्पादन मूल्याङ्कनका आधारमा कार्यालयहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुका साथै प्रहरी कर्मचारीलाई जिम्मेवारीप्रति थप जवाफदेही र सक्रिय बनाउने उद्देश्यले यस्तो प्रणाली लागू गरिएको हो।

नेपालभरका ७७ जिल्ला प्रहरी कार्यालयलाई कार्यसम्पादन मूल्याङ्कनका लागि क, ख, ग, घ र ङ गरी पाँच श्रेणीमा विभाजन गरिएको छ। विभिन्न सूचकमा प्राप्त अङ्कका आधारमा कार्यालयहरूको स्थान निर्धारण गरिन्छ।

यसैगरी, प्रदेश प्रहरी कार्यालयतर्फ लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रथम स्थान हासिल गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा प्रहरी उपरीक्षक जनकबहादुर शाही कार्यालय प्रमुखका रूपमा कार्यरत छन् भने लुम्बिनी प्रदेश प्रहरी कार्यालयको नेतृत्व प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले गरिरहेका छन्।

यसअघि पनि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय रूपन्देहीलाई सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय घोषित गरेको थियो। प्रहरी दिवसको अवसरमा गत असोज ३० गते कार्यालय प्रमुख प्रहरी उपरीक्षक शाहीलाई समेत पुरस्कृत गरिएको थियो।

मासिक रिपोर्ट कार्डमा लगातार उत्कृष्ट नतिजा हासिल गर्नुले प्रहरी कार्यालयको कार्यसम्पादन, नेतृत्व क्षमता र संगठनात्मक जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय