
विराटनगर, असोज ३० । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक प्रमिला कार्की ‘उत्कृष्ट महिला प्रहरी पुरस्कार’बाट पुरस्कृत भएकी छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समुदायमैत्री प्रहरी सेवा प्रवाह गर्दै महिला प्रहरीको भूमिकालाई थप सशक्त बनाउन तथा आम नागरिकमा प्रहरीप्रतिको सकारात्मक छवि अभिवृद्धि गर्न प्रशंसनीय योगदान पुर्याएको मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले कार्कीलाई उक्त पुरस्कार प्रदान गरेको हो।

पुरस्कृत प्रहरी निरीक्षक कार्कीलाई पुरस्कार कोषकी संस्थापक शिला श्रेष्ठ बज्राचार्यले २५ हजार रुपैयाँको चेकसहित प्रशंसापत्र प्रदान गरिन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत महिला प्रहरी कर्मचारीमध्ये उत्कृष्ट कार्य गर्ने एक जनालाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले ‘उत्कृष्ट महिला प्रहरी पुरस्कार’ स्थापना गरिएको हो। सुनसरीको धरान उपमहानगरपालिका–८ निवासी शिला श्रेष्ठ बज्राचार्य र कोशी प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाबीच २०८१ सालमा भएको सम्झौताअनुसार उक्त पुरस्कार प्रदान गर्न थालिएको हो।
महिला प्रहरी कर्मचारीको मनोबल उच्च राख्ने र उनीहरूलाई थप जिम्मेवारीपूर्वक काम गर्न प्रेरित गर्ने उद्देश्यले स्थापना गरिएको यस पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ।
कार्यक्रममा पुरस्कार कोषकी संस्थापक शिला श्रेष्ठ बज्राचार्यलाई प्रमुख अतिथि हिक्मतकुमार कार्कीले दोसल्ला ओढाएर सम्मान गरेका थिए।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा, अधिकार संरक्षण र समुदायमैत्री प्रहरी सेवा प्रवाहमा उत्कृष्ट योगदान पुर्याउने महिला प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित यो पुरस्कारले महिला प्रहरीको व्यावसायिकता, कार्यसम्पादन र सेवाभाव अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।





