वीरगञ्ज, पर्सा — पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित क्यासिनो प्रकरणमा नाम जोडिएपछि इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप पौडेल निलम्बनमा परेका छन्।

केहि दिन अघि मात्र विरगंज -१४ स्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा सञ्चालित ‘गोल्डेन फिङ्गर गेमिङ जोन’बाट सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, इलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेल, चन्दन सहनी र वीरगञ्ज–११ का ओमप्रकाश बैठा पक्राउ परेका थिए। उनीहरूसँगै नेपाली नागरिकलाई कानुनविपरीत क्यासिनोमा प्रवेश गराई जुवा खेलाएको आरोपमा चार जना कर्मचारीसमेत पक्राउ परेका छन्।

पौडेल निलम्बित भएसँगै इलाका प्रहरी कार्यालय पोखरियाको नेतृत्व परिवर्तन भएको छ। धादिङको इलाका प्रहरी कार्यालय गजुरीबाट काज सरुवा भई आएका प्रहरी निरीक्षक भानुभक्त अर्यालले बिहीबारदेखि पोखरियाको कमान्ड सम्हालेका छन्।

कार्यालयको जिम्मेवारी सम्हाल्दै प्रहरी निरीक्षक अर्यालले क्षेत्रको शान्ति–सुरक्षा कायम गर्ने, अपराध नियन्त्रणलाई चुस्त र प्रभावकारी बनाउने तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

क्यासिनो प्रकरणको अनुसन्धान तीव्र रूपमा अघि बढिरहेकै बेला पोखरिया प्रहरीको नेतृत्व परिवर्तन हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार क्लार्क क्यासिनो घटना, सो क्रममा देखिएको प्रहरीको भूमिका र अन्य संलग्न व्यक्तिहरूबारे सूक्ष्म अनुसन्धान भइरहेको छ। अनुसन्धान पूरा भएपछि थप तथ्यहरू सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

नयाँ नेतृत्वको आगमनसँगै क्षेत्रमा शान्ति-सुरक्षा सुदृढ हुने र प्रहरीप्रतिको जनविश्वास पुनः अभिवृद्धि हुने स्थानीयले अपेक्षा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय