
काठमाडौं । तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधको अनुसन्धानका क्रममा प्रहरीले थप चार जनालाई नियन्त्रणमा लिएको छ। गृहमन्त्री सुधन गुरुङले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन सरकार गम्भीर रूपमा अघि बढिरहेको बताएका छन्।

अभिभावकबाट जाहेरी परेपछि थप चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको गृहमन्त्रीको भनाइ छ। घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीबाट लापरबाही भएको विषयमा समेत सम्बन्धित अधिकारीमाथि छानबिन र आवश्यक कारबाही अघि बढाइएको उनले जानकारी दिए।
दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठिरहेको भए पनि नेपालको संवैधानिक व्यवस्थाका कारण तत्काल मृत्युदण्डको कानुन बनाउन सक्ने अवस्था नरहेको गृहमन्त्रीले स्पष्ट पारे। उनले निष्पक्ष अनुसन्धानमार्फत दोषीलाई प्रचलित कानुनअनुसार अधिकतम सजाय दिलाउनु नै सरकारको प्राथमिकता रहेको बताए।
गृहमन्त्री गुरुङले संवेदनशील घटनालाई राजनीतिकरण नगर्न तथा अपुष्ट सूचनाका आधारमा मिडिया ट्रायल नगर्न पनि आग्रह गरेका छन्। “अहिलेको पहिलो प्राथमिकता गरिमालाई न्याय दिलाउनु हो,” उनले भने।




