काठमाडौं । केही समयअघिसम्म अत्यधिक सवारी चाप, अव्यवस्थित पार्किङ र ट्राफिक नियम उल्लंघनका कारण अस्तव्यस्त देखिने काठमाडौंको गठ्ठाघर क्षेत्र पछिल्लो समय तुलनात्मक रूपमा व्यवस्थित बन्दै गएको छ।

गठ्ठाघर चोक तथा आसपासका सडकमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरले नियमित अनुगमन, सवारी व्यवस्थापन तथा नियम उल्लंघन गर्नेहरूमाथि कारबाहीलाई तीव्रता दिएको छ। प्रहरीको सक्रियतासँगै मुख्य सडक तथा चोकमा हुने सवारी जाम र अव्यवस्थित पार्किङमा कमी आएको हो।

विशेषगरी व्यस्त समयमा हुने सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरीले सडकको अवस्था र सवारी आवागमनअनुसार जनशक्ति परिचालन गर्दै आएको छ। सडक किनारमा जथाभावी सवारी पार्किङ गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई आवश्यक कारबाहीसँगै नियम पालना गर्न सचेत गराउने कामसमेत भइरहेको छ।

ट्राफिक व्यवस्थापनमा प्रहरीको मात्रै प्रयास पर्याप्त नहुने भन्दै प्रभाग गठ्ठाघरले स्थानीय बासिन्दा, व्यवसायी तथा सवारी चालकसँग समेत समन्वय गर्दै आएको छ। स्थानीयको गुनासो र सुझाव सुन्दै समस्या समाधानका लागि आवश्यक पहल गरिँदा प्रहरी र समुदायबीचको सहकार्य थप प्रभावकारी बनेको बताइएको छ।

त्यसैगरी विद्यालय, कलेज तथा समुदायस्तरमा ट्राफिक नियम र सडक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा चालक र सर्वसाधारणलाई नियम पालना गर्न प्रेरित गर्ने कार्यलाई पनि प्राथमिकता दिइएको छ।

कारबाहीसँगै जनचेतना र सहकार्यलाई जोड दिइएकाले गठ्ठाघर क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको स्थानीयको बुझाइ छ। ट्राफिक व्यवस्थापनमा आएको सुधारले पैदलयात्रीदेखि सवारी चालकसम्मलाई आवागमनमा सहजता भएको छ।

स्थानीय बासिन्दाले ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरको सक्रियताको प्रशंसा गर्दै आगामी दिनमा पनि नियमित अनुगमन र प्रभावकारी व्यवस्थापनलाई निरन्तरता दिनुपर्ने बताएका छन्। प्रहरीले पनि सडक सुरक्षालाई प्राथमिकतामा राख्दै जाम तथा अव्यवस्थित पार्किङ न्यूनीकरणका लागि थप प्रभावकारी कदम चाल्ने जनाएको छ।

गठ्ठाघरको व्यस्त सडकमा देखिएको यो सुधारले प्रहरीको सक्रियता, समुदायको सहकार्य र ट्राफिक नियम पालनाको संयोजनले सडक व्यवस्थापन प्रभावकारी बनाउन सकिने उदाहरणसमेत प्रस्तुत गरेको छ।

Screenshot

Screenshot

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय