काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनले सुरक्षा जिम्मेवारीसँगै वातावरण संरक्षण र कार्यालय परिसरको सौन्दर्यीकरणमा समेत उल्लेखनीय काम अघि बढाएको छ। पछिल्लो ३–४ महिनाको अवधिमा कार्यदल परिसरमा हजारौँ बिरुवा रोपिएपछि परिसर हरियाली र आकर्षक बन्दै गएको छ।

कार्यदलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशी र प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्धव भाटको सक्रियतामा विभिन्न सरोकारवाला निकाय, संघ–संस्था तथा स्थानीयसँगको समन्वयमा वृक्षरोपण तथा परिसर सुधारका काम अघि बढाइएको बताइएको छ।

कार्यालय परिसरमा रोपिएका साना बिरुवाहरू हुर्किंदै जाँदा आगामी दिनमा हरियालीसँगै शीतल छहारी र वातावरणीय सौन्दर्य थपिने अपेक्षा गरिएको छ। वृक्षरोपण अभियानले प्रहरी कार्यालयको भौतिक वातावरण सुधार गर्नुका साथै वातावरण संरक्षणसम्बन्धी सकारात्मक सन्देशसमेत प्रवाह गरेको छ।

कार्यदलले शान्ति–सुरक्षा कायम गर्ने आफ्नो मुख्य जिम्मेवारीसँगै वातावरण संरक्षण, सरसफाइ तथा कार्यालय परिसरको व्यवस्थित विकासलाई समेत प्राथमिकतामा राखेको देखिन्छ।

वृक्षरोपण तथा परिसर सुधार अभियानमा एसपी जोशी, डीएसपी भाटसहित कार्यदलमा कार्यरत प्रहरी कर्मचारीको सक्रिय सहभागिता रहेको छ। स्थानीय तथा विभिन्न संघ–संस्थासँगको समन्वयले अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको बताइएको छ।

सुरक्षा निकायले आफ्नो नियमित जिम्मेवारीसँगै वातावरणीय संरक्षण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत उदाहरणीय काम गर्न सक्छ भन्ने सन्देश कपन कार्यदलको पछिल्लो गतिविधिले दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय