
इटहरी, भदौ ३ । सडक सुरक्षा तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरी र सार्वजनिक सेवा प्रसारण नेपाल (एनटिभी) इटहरी च्यानलबीच सहकार्य सम्झौता नवीकरण गरिएको छ।
सडक सुरक्षा, ट्राफिक नियमको पालना तथा कार्यालयबाट सञ्चालन हुँदै आएका विभिन्न ट्राफिक गतिविधिलाई प्रभावकारी रूपमा आम नागरिकसमक्ष पुर्याउने उद्देश्यले ‘ट्राफिक गतिविधि कार्यक्रम’ सहकार्यमा प्रसारण गर्ने सम्बन्धमा सम्झौता नवीकरण गरिएको हो।

सम्झौताअनुसार ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक सामग्रीलाई प्राथमिकताका साथ प्रसारण गरिनेछ। यसबाट सर्वसाधारणलाई ट्राफिक नियमबारे जानकारी गराउनुका साथै सडक प्रयोगकर्तालाई जिम्मेवार र सचेत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्झौता पत्रमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीको तर्फबाट प्रहरी उपरीक्षक दिपक गिरी र सार्वजनिक सेवा प्रसारण नेपाल (एनटिभी) इटहरी च्यानलका तर्फबाट च्यानल प्रमुख बसन्तकुमार रुपाखेतीले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।
प्रहरी र सञ्चारमाध्यमबीचको सहकार्यले ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षाका गतिविधिलाई नागरिकस्तरसम्म प्रभावकारी रूपमा पुर्याउन तथा दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।




