
काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुट सम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन पर्यटन सचिव तथा पूर्वसचिव महेश्वर न्यौपानेलाई ४ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले न्यौपानेसँग ४ लाख ५० हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिइएको विषयलाई लिएर केही सरकारी कर्मचारी, निर्माणमा संलग्न चिनियाँ कम्पनी सीएएमसी (CAMC) तथा कम्पनीका सञ्चालकहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
उक्त मुद्दा हाल विशेष अदालतमा विचाराधीन रहेको छ।




