
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिम प्रदेशका सांसदहरूबीच मुलुकको समसामयिक राजनीतिक अवस्था, प्रदेशको विकास, बजेट कार्यान्वयन तथा दीर्घकालीन पूर्वाधार योजनाका विषयमा उच्चस्तरीय छलफल भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजेदेखि सुरु भएको बैठकमा सुदूरपश्चिम प्रदेशका सांसदहरू केपी खनाल, ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी र कोमल ज्ञवाली सहभागी रहेका छन्।

छलफलका क्रममा सांसदहरूले सुदूरपश्चिम प्रदेशले सामना गरिरहेका विकास निर्माणका चुनौती, पूर्वाधार विस्तारका प्राथमिकता, बजेटको प्रभावकारी कार्यान्वयन तथा जनतासँग प्रत्यक्ष जोडिएका विभिन्न समस्याबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका छन्।
भेटमा प्रदेशको समग्र आर्थिक तथा सामाजिक विकासलाई गति दिने रणनीति, आगामी योजनाको कार्यान्वयन र वर्तमान राजनीतिक परिस्थितिका विषयमा समेत दुवै पक्षबीच विस्तृत विचार–विमर्श भइरहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री शाहले प्रदेशका विकासका प्राथमिकतालाई सरकारले गम्भीर रूपमा लिने विश्वास दिलाउँदै केन्द्र र प्रदेशबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा पनि धारणा राख्नुभएको बताइएको छ।




