गुल्मी । प्रतिनिधिसभा सदस्य तथा गुल्मी–२ बाट निर्वाचित सांसद गोविन्द पन्थीले १० दिने निर्वाचन क्षेत्र भ्रमण सम्पन्न गरी काठमाडौं फर्किएपछि भ्रमणका अनुभव, जनताका अपेक्षा र विकासप्रतिको आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सांसद पन्थीले भ्रमण अत्यन्त सकारात्मक, उपलब्धिमूलक र फलदायी रहेको उल्लेख गरेका छन्। भ्रमणका क्रममा जिल्लाका विभिन्न पालिका तथा बस्तीमा पुगेर नागरिक, किसान, युवा, महिला, ज्येष्ठ नागरिक तथा स्थानीय अगुवासँग प्रत्यक्ष संवाद गरेको उनले बताएका छन्।

उनका अनुसार स्थानीयले खानेपानी, जोखिममा रहेका विपन्न परिवारका लागि आवास, झोलुङ्गे पुल निर्माण, वन्यजन्तुको आतंक, कृषि तथा पूर्वाधार विकासलगायतका विषयलाई प्राथमिकताका साथ उठाएका छन्। यी सबै विषय समाधानका लागि आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

पन्थीले लामो समयदेखि अलपत्र रहेको सिमल्टारी–पुर्कोटदह सडक आयोजनाको विषयमा आफूले प्रतिनिधिसभामा पटक–पटक आवाज उठाउँदै आएको स्मरण गराउँदै अहिले सो क्षेत्रमा काम अघि बढेको देखिएको र आयोजना निरन्तर अगाडि बढ्ने विश्वास प्राप्त भएको बताएका छन्।

भ्रमणकै क्रममा उनले मदाने, मालिका, धुर्कोट, इस्मा गाउँपालिका, मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिकाका विभिन्न क्षेत्रमा स्थानीयसँग छलफल गरेका थिए।

किसानका लागि सबैभन्दा गम्भीर समस्या बाँदर र बँदेलको आतंक रहेको उल्लेख गर्दै उनले यो अब सामान्य कृषि समस्या नभई किसानको जीविकोपार्जनसँग जोडिएको राष्ट्रिय चासोको विषय बनेको बताएका छन्। यसको तत्काल राहत र दीर्घकालीन समाधानका लागि सरकारसमक्ष ठोस पहल गर्ने उनको भनाइ छ।

धुर्कोट गाउँपालिका–५ स्थित ऐतिहासिक तथा पर्यटकीय सम्भावना बोकेको ‘बिचित्र गुफा’को अवलोकनपछि यसको संरक्षण, अध्ययन र प्रवर्द्धनका लागि सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। गुफातर्फ जाने क्रममा चिप्लिएर दुर्घटनामा पर्न सक्ने अवस्था सिर्जना हुँदा वडा अध्यक्ष केशबराज भण्डारीको सहयोगले आफू सुरक्षित रहेको भन्दै उनले आभार व्यक्त गरेका छन्।

यसैबीच केही व्यक्तिले आफ्नो विकाससम्बन्धी अभिव्यक्तिलाई तोडमोड गरी गलत प्रचार गरेको भन्दै सांसद पन्थीले असन्तुष्टि जनाएका छन्। पालिका तहका पहुँचमार्ग कालोपत्रे गर्ने दीर्घकालीन योजनाका सन्दर्भमा रिडी–रेसुङ्गा सडकलाई उदाहरणका रूपमा उल्लेख गरिएको भए पनि त्यसलाई आफूले तीन महिनामै निर्माण गरेको दाबी गरेको भन्दै गलत प्रचार गरिएको उनले स्पष्ट पारे।

उनले आफूहरू अरूको कामको जस लिन राजनीतिमा नआएको र जहाँ राम्रो काम भएको छ त्यसको खुलेर प्रशंसा गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। तथ्यमा आधारित बहस र सभ्य राजनीतिक संस्कृतिको आवश्यकता औंल्याउँदै भ्रम फैलाउने राजनीति दीर्घकालीन रूपमा कसैका लागि पनि हितकर नहुने उनको भनाइ छ।

राष्ट्रिय राजनीतिक सन्दर्भमा उनले जनमतबाट बनेको सरकारलाई अस्थिर बनाउने प्रयास लोकतान्त्रिक प्रणालीका लागि उपयुक्त नहुने उल्लेख गर्दै सरकारको मूल्यांकन कामका आधारमा हुनुपर्ने बताएका छन्।

भ्रमण सफल बनाउन सहयोग गर्ने गुल्मीवासीप्रति आभार व्यक्त गर्दै सांसद पन्थीले विकास, सुशासन र समृद्धिका लागि निरन्तर इमानदार प्रयास गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। उनले “पार्टीभन्दा माथि देश, देशभन्दा माथि जनता” नै आफ्नो राजनीतिक मार्गदर्शन रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय