
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजी) नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशअन्तर्गत पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीका सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा कडाइ गर्न मातहतका सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
साउन १० गते ती जिल्लास्थित सशस्त्र प्रहरीका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोस्ट (बीओपी) तथा सुरक्षा पोस्टमा कार्यरत कर्मचारीलाई सम्बोधन गर्दै आईजी पौडेलले सीमा अपराध, लागूऔषध ओसारपसार, अवैध चोरी–निकासी तथा राजस्व चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर नतिजामुखी ढंगले काम गर्न निर्देशन दिएका हुन्।

उनले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोकथामका लागि समयमै योजना बनाएर प्रभावकारी परिचालन हुनुपर्नेमा जोड दिँदै सकारात्मक सोच, फरक कार्यशैली तथा पूर्ण जिम्मेवारी र बफादारितासाथ काम गर्न आग्रह गरे।
‘असल मनसायका साथ गरिएको कामकारबाहीमा भएका कमीकमजोरीको जिम्मा संगठनले लिन्छ,’ भन्दै आईजी पौडेलले कुनै पनि आर्थिक प्रलोभनमा नपरी अवैध गतिविधि नियन्त्रणमा निर्ममतापूर्वक लाग्न निर्देशन दिए।
उनले परम्परागत सोचभन्दा माथि उठेर परिणाममुखी कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै सीमावर्ती क्षेत्रका स्थानीयसँग सुमधुर सम्बन्ध कायम राख्न र सीमा वारपार गर्ने सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउन पनि आग्रह गरे।
साथै, ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न, सीमामा हुने अवाञ्छित गतिविधि तथा सम्भावित घटना–दुर्घटनाप्रति सतर्क रहन र आवश्यक सुरक्षा तयारीलाई सुदृढ बनाउन उनले निर्देशन दिएका छन्।
आईजी पौडेलले वर्षायामलाई मध्यनजर गर्दै बाढी, पहिरो र डुबानजस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुनसक्ने गरी विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्ति तथा आवश्यक उद्धार सामग्री तयारी अवस्थामा राख्न पनि निर्देशन दिएका छन्।




