काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–१ मा कारभित्र मृत अवस्थामा फेला परेकी ४५ वर्षीया रश्मी रिजालले पेट्रोल छर्केर आत्मदाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालिएको छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका घर भई हाल तारकेश्वर–९ मनमैजुस्थित शुभकामना चोकमा बस्दै आएकी रिजाल साउन ८ गते बिहान ७ बजे घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी घर नफर्केपछि परिवारले प्रहरीमा खोजीका लागि निवेदन दिएको थियो।

खोजीका क्रममा प्रहरी वृत्त बालाजुलाई तारकेश्वरस्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक शङ्कास्पद रूपमा पार्किङ गरिएको बिएई ०४१० नम्बरको विद्युतीय (ईभी) कारबारे सूचना प्राप्त भएको थियो। घटनास्थलमा पुगेको प्रहरीले कारभित्र जाँच गर्दा रिजाल पछाडिको सिटमा मृत अवस्थामा फेला परेकी थिइन्। कारको चाबी चालक सिटमै रहेको थियो। कालो सिसा भएका कारण स्थानीयले गाडीभित्रको अवस्था देख्न सकेका थिएनन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार सिसिटिभी फुटेज तथा अन्य प्रारम्भिक अनुसन्धानका आधारमा रिजाल घरबाटै पेट्रोल बोकेर घटनास्थल पुगेको र आफैँमाथि पेट्रोल छर्केर आगो लगाएको देखिएको छ। घटनास्थलमा अन्य कुनै व्यक्तिको उपस्थिति नदेखिएको प्रहरीले जनाएको छ।

रिजालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टमपछि आइतबार परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय